यू–२३ टिम म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्ने, भोलि कतार जाँदै

नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमले म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । आसन्न १३औं सागको तयारीका लागि म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागिएको एन्फाले जनाएको छ ।

नेपाल र म्यानमारबीचको खेल कतारको राजधानी दोहामा कात्तिक ८ गते हुने छ । मैत्रीपूर्ण खेलका लागि एन्फाले सोमबार नै कतार जाने २४ सदस्यी टिमको घोषणा गरेको छ । बालगोपाल महर्जनको प्रशिक्षणमा रहेको नेपाली टिम मंगलबार नै कतार प्रस्थान गर्ने छ ।

सागका लागि अहिले केही सिनियर खेलाडीसहित २५ सदस्यीय टिम बन्द प्रशिक्षणमा रहेका छन् । सागको टिममा रहेका सिनियर खेलाडीहरु किरण चेम्जोङ, रोहित चन्द र विमल घर्तिमगर भने कतार जाने छैनन् । तीनै खेलाडीले विदेशी लिग खेलिरहेकाले उनीहरुले कतार भ्रमण गुमाएका हुन् ।

किरण मिनेर्भा पञ्जावबाट आई लिग खेलिरहेका छन् भने पेर्सिजा जाकर्तामा आबद्ध रोहित इन्डोनेसियन लिगमा व्यस्ता छन् । यता, स्टार स्ट्राइकर विमल टिसी स्पोर्टसबाट माल्दिभ्सको एडिभिजन लिग खेलिरहेका छन् ।

सागको यू–२३ टिममा तीन जना सिनियर खेलाडी राख्न पाउने प्रावधान अनुसरा किरण, रोहित, विलम, बिक्रम लामा र नवयुग श्रेष्ठ सागको बन्द प्रशिक्षणमा छन् ।

कतार जाने २४ सदस्यीय टिम :

गोलरक्षक : अर्पण कार्की, दिप कार्की, देव लिम्बु ।

डिफेन्डर : अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, विकास खवास, छिरिङ गुरुङ, रोमन लिम्बु ।

मिडफिल्डर : सुजल श्रेष्ठ, अन्जन बिष्ट, विक्रम लामा, सुनिल बल, हेमन्त थापामगर, तेज तामाङ, नितिन थापा, सेसेहाङ आङ्देम्बे, रामचन्द्र वाजी ।

स्ट्राइकर : नवयुग श्रेष्ठ, अभिषेक रिजाल, रेजिन सुब्बा, राजिव लोप्चान, प्रिजेन तामाङ र मिक्चेन तामाङ ।