नेपाली महिला फुटबल टिमले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने

एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपाली महिला फुटबल टिमले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। महिला एसियन कप छनोटको तयारीका स्वरुपले नेपालले घरेलु मैदानमा बंगलादेशसँग २ मैत्रीपूर्ण खेल खेल्ने तय भएको एन्फाले जनाएको छ।

एन्फाका अनुसार नेपालले दशरथ रंगशलामा आगामी भदौ २४ र २७ गते मैत्रीपूर्ण खेल खेल्ने छ । महिला एसियन कप छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागिएको एन्फाले जनाएको छ।

एएफसी महिला एसियान कप छनोटमा नेपाल समूह एफमा छ । यो समूहमा नेपाल, फिलिपिन्स र हङकङ छन् । उज्वेकिस्तानमा हुने छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग सेप्टेम्बर १८मा खेल्ने छ।

नेपालले छनोटको दोस्रो खेल हङकङसँग सेप्टेम्बर २१मा खेल्ने छ । समूहको अन्तिम खेल फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ मा हुनेछ।

छनोटको समूह एफको छनोट खेल नेपालमै आयोजना हुने तय थियो । अन्तिम समयमा कोरोनाको कारण देखाउँदै छनोट खेल नेपालबाट उज्वेकिस्तान सारिएको हो।

एसियन कप छनोटका लागि बुधबार मात्र मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले २३ सदस्यीय नेपाली टिम घोषणा गरेका छन्।