नेपाल र बंगलादृशबीचको दोस्रो मैत्रीपूर्ण खेल आज साँझ हुँदै छ । मैत्रीपूर्ण सिरिजका लागि एक साताअघि ढाका पुगेको नेपाली टिमले बंगलादेशसँग आज साँझ पौने पाँच बजे बंगबन्धु रंगशालामा खेल्ने छ ।
यो खेलमालाई नेपाललाई घरेलु टिमसँग बदला लिने अवसर पनि छ । नेपाल गत शुक्रबार भएको सिरिजको पहिलो खेलमा बंगलादेशसँग २-०ले पराजित भएको थियो । सो खेलमा केही सिनियर खेलाडीहरु टिममा नहुनु र फिटनेसमा पनि कमजोर देखिएको नेपालले पहिलो खेलमा राम्रो प्रदर्शन गर्न सकेको थियो । रंगशालामा उपस्थित हजारौँ घरेलु दर्शकका कारण पनि बंगलादेश पहिलो खेलमा उत्साहित देखिएको थियो ।
दुई खेलको सिरिज भएकाले नेपाल दोस्रो खेल जित्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । नेपालका अन्तरिम मुख्य प्रशिक्षक बालगोपाल महर्जनले पनि दोस्रो खेल जित हात पार्ने लक्ष्य रहेको बताएका छन् । पहिलो खेलअघि कोरोना पोजेटिभ देखिएकाले खेल्न नपाएका डिफेण्डर रजिन धिमाल कोरोना संक्रमणबाट मुक्त भएर प्रशिक्षणमा फर्किइसकेका छन् । उनले दोस्रो खेल पहिलो रोजाइमा खेल्ने सम्भावना छ ।
यस्तै पहिलो खेलमा डेब्यु गरेका युवा खेलाडीहरु विकास खवास, एरिक विष्ट र दर्शन गुरुङको प्रदर्शन नेपालको लागि सकारात्मक विषयको रुपमा रहेको छ । नेपाली टिममा गोलरक्षक विशाल श्रेष्ठसहित अझै ६ खेलाडीले डेब्यु गर्न बाँकी छ ।
२०२२२ मा कतारमा हुने फिफा विश्वकप र २०२३ मा चीनमा हुने एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत २०२१ मा हुने समूह चरणको बाँकी खेलको तयारी स्वरुप नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण खेल खेलिएको हो । यस्तै फिफा वरीयतामा पनि यो दुई खेलले प्रभाव पार्नेछ ।