सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम नेपाल पुलिस क्लब विजयी भएको छ। शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले लिगको पुछारमा रहेको एफसी खुमलटारमाथि २–०को जित निकाल्यो।
पुलिससँगको यो हारले नवप्रवेशी क्लब खुमलटारमाथि रेलिगेसन दबाब बढेको छ। लिगको ५ चरण मात्र बाँकी रहँदा खुमलटार २१ अंकसहित पुछारमै छ। उसले लिगमा ६ जित र ३ बराबरी खेलेको छ।
यता, लिगमा खराब सुरुआत गरेको पुलिसले भने लिगमा राम्रो कमब्याक गर्दै रेलिगेसन खतरा टारेको छ। २१ खेलमा २८ अंकसहित पुलिस छैठौं स्थानमा उक्लिएको छ।
खुमलटारविरुद्ध पुलिसलाई जित दिलाउन भरत शाह र मोहमद आसिफले गोल गरे। पुलिसले दुवै गोल दोस्रो हाफमा गोल गरेको थियो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ७६औं मिनेटमा भरतले हेडरमार्फत गोल गर्दै पुलिसलाई अग्रता दिलाए। ८८ औं मिनेट आसिफले गोल गर्दै पुलिसलाई २–०को जित दिलाए।