टि–२० विश्वकप छनोटको पहिलो खेलमा नेपाल हङकङसँग पराजित

टि–२० महिला विश्वकपको एसियन छनोटको पहिलो खेलमै नेपाल पराजित भएको छ । दुबईमा सोमबार भएको खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको हो।

दुबईस्थित आईसिसी एकेडेमी मैदानमा पहिला ब्याटिङ गर्दै नेपालले दिएको १०५ रनको मध्यम लक्ष्य हङकङले १८ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । हङकङका लागि मारिको हिलले सर्वाधिक ४२ रन बनाइन् । नटआउट रहेकी उनले ३७ बल खेल्दै ४ चाका प्रहार गरिन् ।

यस्तै, कप्तान क्यारी चानले १७, नतसा मिल्सले १६ र इमा लाइले १४ रनको योगदान दिए । नेपालका कविता कुँवर, सिता रानामगर र सवनम राईले समान १ विकेट लिए।

यअसघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै १०४ रन मात्र बनाउन सक्यो । नेपालका लागि सीता रानामगरले सर्वाधिक ४० रन बनाइन् । उनले ५८ बलमा ४ चौका प्रहार गरिन्।

यस्तै, इन्दू बर्माले ३७ बल खेल्दै ३१ रन बनाइन् । यी दुईले तेस्रो विकेटका लािग ८१ रनको साझेदारी गरेका थिए । कविता कुँवर शुन्य रनमा आउट हुँदा काजल श्रेष्ठले ४ र कप्तान रुविना क्षेत्रीले २ रन बनाए। हङकङका बेटी चान र क्यारी चानले समान १ विकेट लिए।

अब छनोटको दोस्रो खेल भुटानसँग मंसिर ७ गते खेल्नेछ । छनोटमा नेपाल र हङकङसहित यूएई, मलेसिया, भुटान र कुवेतले प्रतिस्पर्धा गर्नेछन् ।