अनिल, आसिफ र कुशल चम्किँदा नेदरल्यान्ड्समाथि नेपालको सानदार जित

17 Feb, 2024

अनिल साह, आसिफ सेख र कुशल भुर्तेल चम्किएपछि आईसिसी विश्वकप लिग–२मा नेपालले पहिलो जित निकालेको छ। कीर्तिपुरस्थित टियू मैदानमा जारी लिग–२को पहिलो क्रिकोणात्मक सिरिजका दोस्रो खेलमा अनिल, आसिफ र कुशल चम्किएपछि नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हरायो।

यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो।

पहिला ब्याटिङ गर्दै नेदल्यान्ड्सले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। नेपाललाई सानदार जित दिलाउने क्रममा अनिल साह र आसिफ सेखले अर्धशतक बनाए।

अनिलले सर्वाधिक ५७ रन बनाए। आक्रमक इनिङ खेलेका अनिलले ३६ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। लामो समयपछि टिममा पुनरागन गरेका अनिलको उत्कृष्ट फर्ममा छन्। उनले क्यानडाविरुद्धको सिरिजका २ खेलमा एक अर्धशतक र शतक प्रहार गरेका थिए।

यस्तै, आसिफ सेखले ४५ बलमा ८ चौका र १ छक्का प्रहार गर्दैै ५४ रन बनाए। ४७ एकदिवसीय खेलमा आसिफको यो ११औं अर्धशतक हो। उनले १ शतक पनि प्रहार गरेका छन्। आसिफ र अनिलले दोस्रो विकेटका लागि १०५ रनको साझेदारी गरेका थिए।

त्यसअघि कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाए। उनले ११ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै २८ रन बनाए। नेपालको एकमात्र विकेट भिभिन किंगमाले लिए।

त्यसअघि पार्टटाइम लेगस्पिनर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गरेपछि नेदरल्यान्ड्स ३९ ओभरमा १३७ रनमै अलआउट भएको थियो ।

नेदरल्यानड्सका लागि कप्तान स्कट इडवार्डसले सर्वाधिक ३३ रन बनाए। उनले ४९ बलमा खेल्दै १ चौका प्रहार गरे। यस्तै, बास डे लिडले सर्वाधिक २७ र सेब्रान्ड इन्गेलब्रेचले २३ रन बनाउँदा अन्यले भने गतिलो योगदान दिन सकेनन्।

नेदरल्यान्ड्सको इनिङ धरासायी बनाउने क्रममा कुशल ७ ओभरमा २० रन मात्र खर्चेर ४ विकेट लिए। यस्तै, ललित राजवंशीले १० ओभरमा ३२ रन खर्चेर २ विकेट लिए। सोमपाल कामी र कप्तान रोहित पौडेलको नाममा पनि समान १ विकेट रह्यो।