साफ च्यामिपयनसिपमा श्रीलंकासँग भिड्दै नेपाल

माल्दिभ्समा जारी १३औं संस्करणमा आज नेपालले दोस्रो खेल खेल्दैछ। मालेस्थित राष्ट्रिय रंगशालामा हुने खेलमा नेपालले श्रीलंकाको सामाना गर्दैछ। खेल नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुने छ।

पहिलो खेलमा आयोजक माल्दिभ्सविरुद्ध १–०को ऐतिहासिक जित निकालदै प्रतियोगितामा सुखद् सुरुआत गरेको नेपालले श्रीलंकाविरुद्ध पनि त्यही लय कामय राख्न चाहन्छ। श्रीलंका भने पहिलो जितको खोजमिा हुने छ। ऊ उद्घाटन खेलमा बंगलादेशसँग १–०ले नै पराजित भएको थियो।

पहिलो खेलमा जित निकाले पनि श्रीलंकाविरुद्धको खेल निकै कठीन हुने प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताएका छन् । खेलअघि आइतबार भएको पोस्टम्याच कन्फ्रेन्समा खेलाडीलाई सचेत हुने आग्रह गर्दै अलमुताइरीले श्रीलंकाविरुद्ध संयमित भएर खेल्नु पर्ने बताए। ‘श्रीलंकाविरुद्धको खेल अझ गाह्रो हुनेछ । हामीले कुनै पनि हालतमा श्रीलंकालाई सजिलो लिने छैनौं,’ अलमुताइरीले भने।

उनले नेपालले माल्दिभ्सविरुद्ध प्राप्त जितलाई बिर्सेर श्रीलंकाविरुद्ध खेल्ने बतद्धाए । उलने श्रीलंकाविरुद्धको खेल नेपालका पहिलो प्रतिस्पर्धा जस्तै हुने बताए । ‘श्रीलंकाविरुद्धको खेलमा हामी जितसहित तीन अंक बटुल्न सक्यौं भने पनि पक्कै खुसी हुने छौं,’ अलमुताइरीले भने, ‘तर यो सजिलो काम होइन् । हाम्रा खेलाडीले ९० मिनेट कडा संघर्ष गरेर खेल्नेछ ।’

कप्तान किरण लिम्बुले श्रीलंकाविरुद्ध सोमबार हुने खेललाई नेपाली फुटबल इतिहासकै सर्वाधिक महत्त्वपूर्ण खेलको संज्ञा दिएका छन् । उनले भने, ‘हाम्रा लागि यो निकै महत्त्वपूर्ण खेल रहेको छ । त्यसैले हामी शतप्रतिशत मिहिनेतसाथ खेल्नेछौं र जितका लागि प्रयास गर्नेछौं । हाम्रो खेल ३ अंककै लागि हुनेछ ।’

माल्दिभ्सलाई पहिलो खेलमा हराएको नेपालले श्रीलंकालाई पनि पराजित गर्न सके, फाइनल प्रवेशको सम्भावना बलियो बनाउन सक्नेछ । साफ च्याम्पियनसिप इतिहासमा नेपाल र श्रीलंकाबीच अहिलेसम्म ५ खेल भएको छ । त्यसमध्ये एकै खेलमा मात्र नेपाल विजयी छ । नेपालले अन्तिम पटक सन् १९९९ को साफ च्याम्पियनसिपमा श्रीलंकालाई हराएको थियो ।

श्रीलंकाको पक्षमा ३ जित छ भने १ खेल बराबरीमा टुंगिएको छ । सन् २०१५ को केरला साफमा नेपालले पछिल्लो पटक श्रीलंकाको सामना गरेको थियो । त्यसमा इन्ज्युरी समयको गोल मदतमा श्रीलंकाले १–० को जित निकालेको थियो । त्यही हारले अन्ततः नेपालको सेमिफाइनल पुग्ने बाटो रोकिएको थियो ।

बंगलादेशविरुद्धको खेलमा रातो कार्ड खाएका टिमका मुख्य खेलाडी डसकन पुल्सार योगेन्द्रन हुने छैनन् । उनी टिमकै मुख्य डिफेन्डर हुन् । श्रीलंकाली प्रशिक्षक एलगिचले पनि मानेका छन्, योगेन्द्रनको अनुपस्थिति टिमका लागि पक्कै ठूलो घाटा हो । नेपाली टिममा भने चोटको कुनै समस्या रहेको छैन ।