आइसिसी विश्वकप लिग–२अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज घरेलु टोली युएईसँग खेल्दैछ। यो खेलसँगै नेपालको यूएई भ्रमण टुंगिनेछ।
खेल नेपाली समयअनुसार मध्याह्न ११:४५ बजेबाट दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरू हुनेछ। लिग टुमा यूएईविरुद्ध नेपालले जित हात पार्न सकेको छैन। त्यसैले लिग टुमा आज यूएईलाई पहिलोपटक पराजित गर्नु नेपालको लक्ष्य हुनेछ।
शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्ने आशा कायमै राख्न नेपालले घरेलु टोली युएईलाई हराउनैपर्ने हुन्छ। तर लिग(२ मा नेपालले युएईलाई हालसम्म हराएको छैन।
नेपालसँग सोमबार दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुने खेलमा कुशल भुर्तेल हुने छैनन् । पपुवा न्युगिनीविरुद्धको पहिलो खेलमा अर्धशतक बनाउँदै प्लेयर अफ द म्याच बनेका ओपनिङ ब्याटर कुशलले ग्रोइन चोटका कारण यूएई भ्रमणको अन्तिम खेल गुमाउने भएका हुन्।
पछिल्ला दुई खेलमा उनको शट छनोट आलोचित पनि बनेको छ । उनको स्थानमा सन्दीप जोरालाई नेपाली टोलीभित्र राखिएको छ । यूएई भ्रमणमै रहे पनि जोरा नेपालको अन्तिम १४ सदस्यीय टोलीमा थिएनन्।
५ खेल खेल्न बाँकी रहेको नेपालसँग समीकरणमा दुईवटा विकल्प छन् । ३ खेल जितेमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम रहनेछ भने सबै ५ खेल जितेमा नेपाल सोझै विश्वकप छनोटमा पुग्ने छ ।
३ खेलभन्दा कम जितेमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताका लागि अर्को बाटो रोज्नुपर्नेछ । शीर्ष ३ का लागि यूएईसँग पनि विकल्प कम हुँदै गएको छ । नामिबियालाई उछिन्दै शीर्ष ३ भित्र पर्न यूएईले बाँकी रहेका ५ खेल नै जित्नुपर्ने समीकरण बनेको छ ।