नेपाल पहिलो पटक एसिया कप क्रिकेटमा छनोट भएको छ। घरेलु मैदानमा एसिसी प्रिमियर कपको वर्षाले प्रभावित फाइनलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले पहिलो पटक एसिया कपमा स्थान बनाएको हो।
अब नेपालले एसिया कपमा विश्व क्रिकेटकै महाराथी देशहरु भारत र पाकिस्तानसँग खेल्ने भएको छ। एसिया कप पाकिस्तानमा हुने छ।
नेपालाई एसिया कपमा पुर्याउनेक्रममा युवा अलरान्डर गुल्सन र भीम सार्कीले उत्कृष्ट इनिङ खेले। तेस्रो नम्बरमा ब्यापिटङ गरेका गुल्सनले ८४ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै ६७ रन बनाए। एकदिवसीयमा उनको यो दोस्रो अर्धशतक हो। यस्तै, भीम सार्कीले ७२ बलमा ४ चौका प्रहार गर्दै ३६ रन बनाए।
२२ रन बनानउँदै ३ विकेट गुमाएपछि नेपाल दबाबम परेको थियो । तर, त्यसपछि गुल्सन र भीमले सम्हालिएको इनिङ गर्दै भारत पाकिस्तानसँग खेल्ने सपना साकार बनाए। यी दुईले चौथो विकेटका लागि ९२ रनको साझेदारी गर्दै नेपाललाई पहिलो पटक एसिया कपमा पुर्याए।
बलिङमा युएईका रोहन मुस्तफाले १० ओभरमा १३ रन खर्चेर २ विकेट लिए भने आयन खानले १ विकेट लिए।
त्यसअघि सोमबार भएको वर्षा प्रभावित खेलमा नेपाली बलर हावी भएपछि २७.३ ओभरमा १०६ रन बनाउँदा युएईले ९ विकेट गुमाएको थियो। त्यही अवस्थाबाट आज युएईले इनिङ सुरु गरेको थियो। मंगलबार युएईले थप ११ रन बनाएको थियो।
युएईको इनिङ ध्वस्त बनाउने क्रममा ललित राजवंशीले ७.१ ओभरमा २ मेडनसहित १४ रन मात्र खर्चेर ४ विकेट लिए। यस्तै, करण केसी र सन्दीप लामिछानेले पनि समान २ विकेट लिए। गुल्सन र सोमपाल कामीको नाममा पनि १ विकेट रह्यो।