आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएईमा भइरहेको त्रिकोणात्मक श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ ।
खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।
नेपालको कप्तानी सन्दीप लामिछाने र युएईको अहमद राजाले गर्नेछन्। यस अघिको खेलमा नेपाल युएईसँग ४८ रनले पराजित भएको थियो।
नेपाल १० खेलमा ५ मा जित र ५ मा हार सहित १० अंकका साथ छैटौं स्थानमा छ। १७ खेल खेलेको युएई ९ मा जित र ६ मा हारका साथ २० अंक जोड्दै दोस्रो स्थानमा छ।
यसअघिको खेलमा नेपाल खराब ब्याटिङको कारण पराजित भएको थियो। नेपाल युएईले दिएको १ सय ६९ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा ३५.१ ओभरमा १ सय २० रनमा अल आउट भएको थियो।
अघिल्लो खेलमा ब्याटिङमा कमजोर देखिएको नेपालका लागि यूएईविरुद्ध ब्याटिङमा सुधार गर्नुपर्ने देखिएको छ ।
पछिल्लो समय यूएईमा लयमा देखिएको छ । एक महिनाअघि टी-२० विश्वकप छनोट र त्यसअघिको टी-२० सिरिजमा पनि नेपाल यूएईसँग पराजित भएको थियो ।
एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले यूएईलाई पछिल्लो पटक सन् २०१९ मा उसैको मैदानमा हराएको थियो । आजको खेलमा नेपाललाई यूएईविरुद्ध बदला लिँदै खेल जित्ने अवसर छ ।
नेपाल र यूएईबीच अहिलेसम्म एकदिवसीय अन्तर्राष्ट्रियमा ५ खेल भएका छन् । जसमा नेपालले २ खेल जितेको छ भने ३ खेल हारेको छ ।