सोमबार बिहान कीर्तिपुरस्थित टियू मैदानमा भएको तेस्रो स्थानको प्लेअफमा माल्दिभ्सलाई ५ विकेटले हराउँदै नेपालले १३औं सागको पुरुष क्रिकेटमा कांस्य पदक जितेको छ ।
समूह चरणमा भुटान र माल्दिभ्सलाई हराए पनि श्रीलंका र बंगलादेशसँग पराजित भएपछि नेपाल फाइलन पुग्न असफल भएको थियो ।
माल्दिभ्सले दिएको ९५ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । ९५ रनको झिनो लक्ष्य पछ्याउँदा पनि नेपालले राम्रो ब्याटिङ गर्न सकने । नेपालका लागि आरिफ सेखले सर्वाधिक ३६ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले २२ रन बनाए ।
यस्तै, रोहितकुमार पौडेले १५, विनोद भण्डारीले १२ र पवन सर्राफले १० रन बनाए । पूर्वकप्तान पारस खड्का ५ रन बनाए आउट हुँदा दीपेन्द्रसिंह ऐरीले २ रन मात्र बनाउन सके । माल्दिभ्सका उमर अदमले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए भने लिम सफिकले १ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन मात्र बनाउन सक्यो । उसका लागि लीम सफिगले सर्वाधिक २९ रन बनाए भने मोहम्मद रिसवानले १७ र मोहम्मद महफुजले १६ रन बनाए ।
नेपालका लागि ललित नारायण राजवंशीले ४ ओभरमा ६ रन खर्चेर ३ विकेट लिए । सुशन भारीले २ तथा पारस खड्काले १ विकेट लिए ।
पुरुष क्रिकेटको स्वर्णका लागि भने श्रीलंका र बंगलादेश भिडिरहेका छन् ।