नेपालको एकदिवसीय मान्यता सन् २०२३ सम्म लम्बिएको छ । सन् २०२२ मै सकिने एकदिवसीय मान्यताको म्याद कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) एक वर्ष लम्बाएको हो ।
नेपाल क्रिकेट संघ(क्यान)को पहिलो वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष चतुरबहादुर चन्दले नेपालको एकदिवसीय मान्यता एक वर्ष थप भएको जानकारी गराएका छन् ।
नेपालले सन् २०१८मा ४ वर्षका लागि एकदिवसीय मान्यता पाएको थियो । जिम्बाबेमा भएको एकदिवसीय विश्वकप छनोटबाट नेपालले उत्कृष्ट ४ एसोसियट राष्ट्रको रुपमा एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको थियो ।
नेपालले हालसम्म १० एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेको छ । जसमा ५ जित र ५ हार व्यहोरेको छ । नेपालले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गरेको थियो ।
नेपालले घरेलु मैदानमै ४ एकदिवसीय खेल खेलेको छ । जसमा २ जित र २ हारको सामाना गरेको छ । विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको पहिलो सिरिजमा नेपालले अमेरिका र ओमानसँग घरेलु मैदानमा एकदिवसीय सिरिज खलेको थियो । जसमा नेपाल ओमानसँग दुवै खेलमा पराजित हुँदा अमेरिकालाई दुवै खेलमा हराएको थियो ।
एकदिवसीय अन्तराष्ट्रिय मान्यता ४ वर्षको लागि हुने गर्छ । सन् २०१८ मा पाएको नेपालको मान्यता सन् २०२२ मा सकिंदै थियो ।
तर, कोरोनाको कारण एक वर्ष खेर गएको भन्दै सन् २०२३ सम्मको लागि आईसीसीले मान्यता लम्ब्याएको हो ।