खेलाडी वर्गिकरणमा असन्तुष्टी जनाउने ज्ञानेन्द्रसहित ४ क्रिकेटरलाई क्यानले सोध्यो स्पष्टीकरण

खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाउने क्रिकेटरलाई नेपाल क्रिकेट संघ (क्यान)ले स्ष्टीकरण सोधेको छ। क्यानले सोमबार राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, फास्टबलर सोमपाल कामी र तीव्र गतिका बलर कमलसिंह ऐरीलाई क्यानले स्पष्टीकरण सोधेको हो।

क्यानले चारै जना खेलाडीलाई बुधबारसम्म स्पष्टीकरण दिन समय दिएको बताइएको छ। खेलाडी वर्गीकरणका विषयमा मिडियामा बोलेको भन्दै क्याले कप्तान र उपकप्तानसहित ४ खेलाडीलाई स्पष्टीकरण सोकेको हो।

गत कात्तिक १७ गते ज्ञानेन्द्रसहित चार खेलाडीले भिडिओमार्फत् राष्ट्रिय क्रिकेटरको वर्गीकरणमा असन्तुष्टी जनाएका थिए। अप्रिल २०२१ देखि डिसेम्बर २०२१ सम्मका लागि गरिएको खेलाडी वर्गीकरणमा खेलाडीहरूले प्रश्न उठाएका थिए।

क्यानले खेलाडीलाई छुट्टाछुट्टै सन्देश पठाउँदै नयाँ सम्झौतामा हस्ताक्षर गर्न भनेको र उक्त सम्झौताको विषयमा खेलाडीहरूलाई स्पष्ट नपारेकोमा कप्तान ज्ञानेन्द्रसहितका खेलाडीको असन्तुष्टि थियो।

वर्गीकरणमा खेलाडीको श्रेणी निर्धारणमा भेदभाव भएको भन्दै केही खेलाडीले सम्झौतामा हस्ताक्षर गर्नसमेत अस्वीकार गरेका थिए। क्यानले सन् २०२१ को सम्झौता वर्षको सुरूमै गर्नु पर्नेमा वर्ष सकिन लाग्दा गरेको थियो। ‍यो अवधिमा उत्कृष्ट खेलेका खेलाडी नै वर्गीकरणमा नपरेपछि खेलाडी असन्तुष्ट बनेका थिए।