नेपालले पहिलो अभ्यास खेलमा श्रीलंकाको स्थानीय टोली श्रीलंका नेभी स्पोर्ट्स क्लबविरुद्ध फराकिलो जित निकालेको छ । सोमबार भएको पहिलो अभ्यास खेलमा उत्कृष्ट बलिङ गर्दै नेपालले नेभीमाथि १११ रनको जित निकाल्यो ।
पहिला ब्याटिङ गर्दै नेपालले दिएको २१५ रनको मध्यम लक्ष्य पछ्याएको नेभी २८.५ ओभरमा अलआउट हुँदै १०३ रनमै समेटियो। उसका एम मधुशंकाले सर्वाधिक ३९ रन बनाए।
नेभीलाई सस्तैमा समेट्ने क्रममा कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। उनले ७.५ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ३ विकेट लिए । यस्तै, पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १ ओभरमा ८ रन खर्चेर २ विकेट लिँदा विक्रम सोबले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ३७.१ ओभरमा २१४ रनमा अलआउट भयो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४३ रन बनाए । यस्तै, ओपनर आसिफ शेखले ३६, विनोद भण्डारीले २२ रनको योगदान दिए ।
नेभीका अरविन्द अकुरुगोडाले सर्वाधिक ४ विकेट लिए । उनले ९.१ ओभरमा १ मेडनसहित ५९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। यस्तै, अवदतले १० ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिए ।
नेपालले अर्को सातापछि युएईमा हुने आईसीसी विश्वकप लिग(२ को तयारीको लागि चार अभ्यास खेल खेल्न श्रीलंका गएको हो।
नेपालले दोस्रो अभ्यास खेलमा मंगलबार नेभीसँग खेल्ने छ। तेस्रो अभ्यास खेलमा मार्च ११ मा श्रीलंका पुलिस र मार्च १२ मा कोलोम्बो ११ सँग खेल्ने छ। कोलोम्बो ११ मा प्रथम श्रेणी खेल खेलेका खेलाडी हुनेछन्।