जिम्बोवे ‘ए’विरुद्ध एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले खराब ब्याटिङ गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३१.३ ओभरमा १३६ रनमा अलआउट भयो ।
जिम्बावे ए का बलरको धारिलो बलिङ सामु नेपाली ब्याटरले खुलेर खेल्न सकेनन् । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए । छैठौं नम्बरमा ब्याटिङ गरेका उनले ७० बल खेल्दा २ चौका र १ छक्का प्रहार गरे । करण केसीले ३६ बल खेल्दै ३ चौका मद्दतमा २५ रन बनाए । सोमपाल र करणले आठौं विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए।
ओपनर कुशल भुर्तेलले १९ र दीपेन्द्र सिंह ऐरीले १८ रन बनाए । पहिलो ओभरमै ३ चौकासहित १४ रन जोडेका कुशलले १० बल खेल्दै कुल चार चौका प्रहार गरे । दीपेन्द्रले २० बल खेल्दै ३ चौका प्रहार गरे ।
आसिफ शेख र आरिफ शेख समान ५ रन बनाएर आउट भए भने रोहित पौडेलले ३ तथा आदिल आलमले २ रन बनाएर आउट भए ।
जिम्बावेका ब्राड एभान्सले सर्वाधिक ४ विकेट लिए । यस्तै भिक्टोर न्याउची, ब्राण्डन मभुता र सेफास जुवायो २–२ विकेट लिए ।