अमेरिका हुने विश्वकप लिग २ अन्तर्गतको चौथो सिरिजका लागि नेपाली क्रिकेट संघ (क्यान)ले नेपाली टिमको घोषणा गरेको छ। क्यानले बुधबार साँझ सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो।
क्यानले घोषणा गरेको टिममा फास्ट बलरद्वय विक्रम सोब र किशोर महतोले पुनरामगन गरेका छन्। केही समय अगाडि घरेलु मैदानमा भएको जिम्बाबे एविरुद्धको सिरिजमा गरेको प्रदर्शनका आधारमा मुख्य प्रशिक्षक पुबुदु दासानायकेले विक्रम र किशोरलाई टिममा राखेका हुन्।
यता, पूर्वकप्तान पूर्वकप्तान ज्ञानेन्द्र मल्ल भने यो पटक पनि टिमबाहिरै रहेका छन्। फागुनमा युएई र पपुवा न्युगिनीसम्मिलित त्रिकोणात्मक श्रृङ्खलामा टिममा रहेका ज्ञानेन्द्र त्यसयता पीएनजी र जिम्बावे ‘ए’सँगको एकदिवसीय र टि–२० सिरिजमा समावेश थिएनन्।
नेपालको टिममा सुनील धमलाले कमब्याक गरेका छन् । सन् २०१७ मा आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत त्रिवि मैदानमा केन्याविरुद्ध अन्तर्राष्ट्रिय डेब्यू गरेयता सुनीलले राष्ट्रिय टोलीमा अवसर पाएका थिएनन् ।
अघिल्लो साता जिम्बावे ‘ए’सँगको श्रृङ्खलामा राम्रो प्रदर्शन गरेपछि उनलाई टिममा बोलाइएको छ । पीएनजीसँगको श्रृङ्खलामा डेब्यू गरेका आदिल अन्सारी पनि एकदिवसीय अन्तर्राष्ट्रियका लागि पहिलोपल्ट टिममा परेका छन् । पीएनजीविरुद्ध नेपालमै भएको एकदिवशीय श्रृङ्खलामा दुई महिनाअघि राष्ट्रिय टोलीबाट डेब्यू गरेका रुपन्देहीका देव खनालले निरन्तरता पाएका छन् ।
नेपालले जेठ २५ देखि असार ५ सम्म अमेरिकामा ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ ।
विश्वकप लिग टूलाई अर्को वर्ष भारतमा हुने एकदिवशीय विश्वकपको छनोट प्रक्रियाका रुपमा हेरिएको छ । ७ टोली सम्मिलित लिगमा नेपाल अहिलेसम्म १२ खेलबाट ६ जितसहित छैठौं स्थानमा छ ।
नेपाली टिम : सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सुनील धमला, देव खनाल, मोहम्मद आदिल अन्सारी, सोमपाल कामी, करण केसी, विक्रम सोब, किशोर महतो, सागर ढकाल ।