राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि नेपाली टिम तयार रहेको बताएका छन्। मंगलबारबाट सुरु हुने त्रिकोणात्मक सिरिजमा नेपालले स्कटल्याण्ड र नामिवियासँग खेल्ने छ।
सिरिजअघि भएको पत्रकार सम्मेलनमा रोहितले मोन्टी देशाईको आगमनपछि नेपाल टिममा उल्लेखनीय सुधार भएको बताए। उनले भने, ‘१० दिनमा मोन्टी सरले आएर जुन माहोल बनाउनुभएको छ त्यसले हाम्रो आत्मविश्वास बढेको छ।’
एक साताअघि मात्र औपचारिक रुपमा नियुक्त भएका प्रशिक्षक मोन्टी देशाईले नेपालका उमेर समूहका टोलीसँग काम गरिसकेकोले अहिलेको टोलीमा सहजै घुलमिल भएको कप्तान रोहितले बताए। घरेलु मैदानमा हुने सिरिज निकै महत्वपूर्ण रहेको भन्दै रोहितले घरेलु मैदानको भरपुर सदुपयोग गर्ने बताए।
कप्तान रोहितले नेपाल क्रिकेटको भविष्यसँग जोडिएको यो शृंखलामा सबै खेल जित्नुपर्ने अबस्थाबारे टिम जानकार रहेको बताए । ‘बाँकी नतिजा पनि यहि सिरिजले निर्धारण गर्छ त्यसैले पनि घरेलु मैदानमा खेलिने यो चार खेल हाम्रा लागि धेरै महत्वपूर्ण छ भन्ने बुझेका छौं,’ रोहितले भने ।
नेपाल क्रिकेट संघ क्यानले मोन्टीलाई तीन साताअघि नै प्रमुख प्रशिक्षकका रुपमा नियुक्ति गरे पनि नेपाल सरकारको सहमति लिने प्रक्रिया ढिला भएको थियो । २३ माघमा औपचारिक नियुक्ति हुनुअघि १४ माघदेखि नै उनले राष्ट्रिय टिमको प्रशिक्षण थालेका थिए ।
यस्तै नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाईले छोटो समयको क्याम्प निकै फलदायी भएको र १० दिनको अवधिमा आफूले खेलाडीमा भएको क्षमतालाई निखार्न प्रयास गरेको बताए।
लिग टूको तीन वर्षे शृंखलामा नेपालले २४ खेल खेलिसकेको छ । एकदिवशीय मान्यता पाएका सात एसोसिएट राष्ट्रका टोलीबीचको यो शृंखलामा नेपाल अहिले पुछारबाट दोस्रो स्थानमा छ ।
आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने एकदिवशीय विश्वकपका लागि ग्लोवल क्वालिफायरमा स्थान बनाउन तथा चार वर्षअघि पाएको एकदिवशीय मान्यता जोगाइराख्न नेपालले शृंखलाका आगामी १२ खेलमा राम्रो नतिजा ल्याउनु अनिवार्य छ ।