आईसीसी क्रिकेट विश्वकप लिग टूमा तेश्रो हुँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका छन् ।
आज शुक्रबार बिहान वालुवाटारमा नेपाली टिमका सबै सदस्यलाई सम्मान गर्दै प्रधानमन्त्री दहालले क्रिकेट टिमका सबै सदस्यलाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेका गरेका छन्।
‘यसअघि पनि सरकारले तपाईँहरूलाई जनही दुई लाख राशीले पुरस्कृत गरिसकिएको छ। आज म तपाईँहरूलाई जनही तीन लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गर्दछु,’ प्रधानमन्त्रीले भने।
स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक शृंखला जिते लगत्तै गत महिना खेलाडीलाई प्रधानमन्त्रीले बालुवाटारमै बोलाएर सम्मान गर्दै जनही २ लाख दिने घोषण गरेका थिए । अहिले फेरि यूएई र पपुवा न्युगिनी सम्मिलित शृंखला जितेको र विश्वकप छनोटमा पुग्न सफल टिमले प्रधानमन्त्रीले जनही ३ लाख दिने घोषणा गरेका हुन् ।
नेपालले बिहीबार घरेलु मैदानमा यूएईलाई ९ रनले पराजित गर्दै क्रिकेट विश्वकप लिग टु को तेस्रो स्थानमा रहेर विश्वकप क्वालिफायरमा स्थान पक्का गरेको थियो ।
खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्रीले खुसी व्यक्त गरे ।
प्रधानमन्त्रीले भने ‘मलाई अत्यन्त खुसी लागेको छ। हिजो तपाईँहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईँहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ। देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ । आगामी दिनमा समेत तपाईहरूको प्रर्दशन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु ।’