°
, June 1, 2023 in

एसिसी प्रिमियर कपका लागि नेपाली टिमको घोषणा, लिग–२ कै टिमलाई निरन्तरता

SHARE:

एसिया कप छनोटका रुपमा रहेको एसिसी प्रिमियर कपका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ। वैशाख ५ गतेबाट घरेलु मैदानमा आयोजना हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक मोन्टी देसाईले आइतबार १४ सदस्यीय टिम घोषणा गरेका हुन्।

देसाईले आईसिसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम सिरिज खेलेको टिमलाई नै प्रिमियर कपमा निरन्तरता दिएका छन्। केही साताको बन्द प्रशिक्षण र ओमानसँगको अध्यास खेलपछि देसाई टिम घोषणा गरेका हुन्।

१० टिम सहभागी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा परेको छ। यो समूहमा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन्। यस्तै, समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।

समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। कीर्तिपुरस्थित टियू मैदान र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिताको फाइनल वैशाख १८ गते टियू मैदानमा हुनेछ।

प्रतियोगिताको पहिलो दिन नेपालले त्रिवी मैदानमा मलेसियासँग खेल्ने छ। यस्तै, वैशाख ८ गते ओमानसँग नेपालले त्रिवी मैदानमै दोस्रो खेल खेल्नेछ । यस्तै, तेस्रो खेल मुलपानीमा वैशाख ११ गते साउदी अरेबियासँग र समूहको अन्तिम खेल वैशाख १४ गते कतारसँग त्रिवि मैदानमा खेल्नेछ।

प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ।

नेपाली टिम : रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतीश जिसी र ललित राजवंशी ।

वैकल्पिक खेलाडी : अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतो ।

SHARE: