सिंगापुरमा आयोजना हुन लागेको त्रिकोणात्मक टि–२० सिरिजका लागि नेपाली राष्ट्रिय टिम आज राति सिंगापुर जाँदै छ । टेस्ट राष्ट्र जिम्बाबे र सिंगापुरविरुद्धको सिरिजका लागि १५ सदस्यीय नेपाली टिम बुधबार राति १० बजे सिंगापुर प्रस्थान गर्दै छ ।
क्रिकोणात्मक टि–२० सिरिज असोज १० गतेदेखि १६ गतेसम्म आयोजना हुँदै छ । टि२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि सिंगापुरले सिरिज आयोजना गरेको हो । नेपाल र जिम्बाबे भने छटोटबाट बाहिरएका छन् । नेपाल एसिया छनोटबाटै बाहिरिएको थियो भने जिम्बाबे आईसिसीको प्रतिबन्धमा परेकाले जिम्बाबेले छनोट खेल्न नपाएको हो ।
डबल राउन्ड रोबिनका आधारमा त्रिकोणात्मक सिरिजको पहिलो खेलमा असोज १० गते जिम्बाबेसँग खेल्ने छ भने दोस्रो खेल ११ गते सिंगापुरसँग खेल्ने छ । यस्तै, असोज १४ नेपालले पुनः जिम्बाबेको समान गर्दा १५ गते सिंगापुरसँग भिड्ने छन् । लिगका शीर्ष २ टिम उपाधिका लागि भिड्ने छन् । फाइनल ४ अक्टोबर बिहीबार हुने छ ।
क्रिकोणात्मक सिरिज लगत्तै नेपाली टिम उतैबाट ओमान जाने छ । ओमानमा नेपालले आयरल्यान्ड, नेदरल्यान्ड्स, ओमान र हङकङ सम्मिलित टि–२० सिरिज खेल्ने छ । सिरिज ओमान क्रिकेटले टि–२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि आयोजना गरेको हो । सिरिज ५ अक्टोबरबाट १० अक्टोबरसम्म चल्ने छ ।
सिंगापुर र ओमान भ्रमणका लागि आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले अघिल्लो साता १५ सदस्यी नेपाली टिम घोषणा गरेको थियो ।
नेपाली टिमको कप्तानमा पारस खड्का रहेका छन् भने उपकप्तानको जिम्मेवारी युवा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पाएका छन् । नियमित उपकप्तान ज्ञानेन्द्र मल्लले पारिवारिक कारणले सिंगापुर भ्रमण गर्न नसक्ने बताएपछि उपकप्तानको जिम्मेवारी दीपेन्द्रले पाएका हुन् ।
सिंगापुर र ओमान भ्रमणमा अनुभवी ब्याट्सम्यान शरद भेषावकर र भेट्रान स्पिनर बसन्त रेग्मी भने हुने छैनन् । शदर र बसन्तको स्थानमा इशान पाण्डे र यू–१९ टिमका अलराउन्डर कुशल मल्ल टिममा परेका छन् ।
सिंगापुर र ओमन भ्रमणमा जाने १५ सस्दयीय टिममा पारस खड्का (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललितनारायण राजवंशी, पवन सर्राफ, सन्दीप लामिछाने, अभिनास बोहोरा, कुशल मल्ल, आरिफ शेख, सुशन भारी, ईशान पाण्डे, सन्दीप जोरा र रोहितकुमार पौडेल रहेका छन् ।