फुटबल खेल मात्र हाेइन, उद्योग साबित भइसकेको छ । सयौँ खेलाडीले परिवार पाल्ने र सुन्दर भविष्यको कल्पना गरेर फुटबल अँगालेका छन् । तर नेपालमा खेलेर परिवार त के आफैँ पाल्न नसकिने अवस्था सृजना नभएपछि खेलाडी पलायन हुने क्रम बढेको छ ।
पछिल्लो वर्षमात्र ३० भन्दा धेरै फुटबलर पलायन भए । अहिलेपनि प्रत्येक साता जसो खेलाडीहरू पलायन भइरहेको तथ्यांक छ । खेलाडीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदेसिँदै गरेको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेपछि मात्रै फुटबलको नियामक निकाय एन्फाले थाहा पाउने गरेको छ ।
लगातार खेलाडी बाहिरिँदै गर्दा एन्फा भने मौन बसेर फुटबलमा भविष्य खोजिरहेकाहरूको मजाक उडाएको छ ।
नेपाली फुटबलले अहिलेसम्म पाएको उत्कृष्ट मिडफिल्डरमध्येका एक हुन्, विशाल राई । उनले व्यावसायिक फुटबल खेल्न थालेको १२ वर्ष भयो । तर, सुन्दा अचम्म लाग्ला घरेलु फुटबलमा सर्वाधिक ठूलो सहिद स्मारक ए डिभिजन लिगको उपाधिमा ह्याट्रिक गरेका विशाल यतिबेला विदेश पलायनको सोचमा छन् ।
राष्ट्रिय टिमबाट साफ च्याम्पियनसिपको फाइनल खेलेका तथा फोर नेसन्स कप, दक्षिण एसियाली फुटबल, सोलिडारिटी कपलगायतको उपाधि जित्दाका महत्त्वपूर्ण सदस्य विशाल एन्फाभित्रको राजनीतिले बिरक्तिएका हुन्।

राष्ट्रिय टिमबाट लगातार खेलिरहेका दिनेश राजवंशी तथा तेज तामाङ एक साताअघि मात्रै बिदेसिए । दिनेश र तेजले यसै वर्ष शीर्ष डिभिजनमा उक्लेको चर्च ब्वाइजसँग सम्झौता गरेका थिए । क्लब पनि आसन्न ए डिभिजन लिगका लागि दिनेश र तेजसँग ढुक्क थियो । तर उनीहरुले भविष्य देखेनन् ।
नीतिन थापा, रन्ज विष्ट र गौतम श्रेष्ठले पनि पलायनकै बाटो रोजे । अधिकांश खेलाडीको गन्तव्य अस्ट्रेलिया वा अमेरिका बनेको छ । खेलाडीको बिदेसिने लर्को लाग्दा पनि एन्फा र ए डिभिजन क्लबहरू भने गल्ती स्विकार्ने पक्षमा छैनन् ।
नियमित प्रतियोगिता नहुँदा र क्लबहरू व्यावसायिक नबन्दाको असर खेलाडीको आम्दानीमा परेको छ। फुटबल खेलेर परिवार पाल्नै मुस्किल भएपछि खेलाडीले पलायनको विकल्प नदेखेका हुन् । यति हुँदा पनि एन्फाले पटक्कै चासो देखाएको छैन।
नेपालमा लगातार फुटबल हुँदैन । भएका प्रतियोगिता पनि व्यवस्थित छैनन् । खेलाडीले पर्याप्त पैसा पाउँदैनन् । त्यसैले परिवार पाल्नकै लागि उनीहरु विदेसिन बाध्य छन् ।

पुरुष मात्र होइन, महिला खेलाडी पनि पलायन भइरहेका छन् । दुवईमा मात्रै हेर्ने हो भने पनि नेपाली महिला फुटबलका स्टार खेलाडीको एउटा टिमनै पुग्छ । खेलाडी पलायन हुनुको मुख्य कारण के हो त ?
केही खेलाडी बढी महत्वाकांक्षी भएर पनि विदेशीका छन् । तर अधिकांश नेपालमा खेलेरै बाँच्नसक्ने अवस्था नदेखेपछि बाध्य भएर देश छोड्ने अवस्थामा पुगेका हुन् ।

आगामी फागुनको १९ गते सुरु हुने ए डिभिजन लिगमा मैदानमा उतार्न अनुभवी खेलाडीको अभाव हुने संकेत पाएपछि एन्फा उल्टै विदेशी खेलाडीको कोटा थप्ने योजनामा छ । यस्तो दुरावस्थाले आगामी राष्ट्रिय टिम कस्तो बन्ला ?