डिस्को काण्डपछि राष्ट्रिय टिमबाट बाहिर रहँदै आएका स्ट्राइकर विमल घर्तिमगर, मिडफिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई राष्ट्रिय टिममा बोलाइने भएको छ ।
नेपाली फुटबल टिमका कार्यकारी मुख्य प्रशिक्षक बालगोपाल महर्जनले केही खेलाडी कोरोना संक्रमित भएका र केही खेलाडी घाइते भएकाले विमल, सन्तोष र दिनेशलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाउन लागिएको बताएका छन् ।
गत मंसिर ३ मा भएको विश्वकप छनोटको कुवेतसँगको खेलअघि ‘डिस्को काण्ड’ मा मुछिएपछि अनुशासनको काबराहीमा परेका तीनै खेलाडीलाई पहिलो पटक राष्ट्रिय टिममा बोलाउन लागिएको हो । डिस्को काण्डमा विमल, सन्तोष, दिनेशसँगै अन्जन विष्ट पनि मुछिएका थिए । ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि अन्जन यसअघि राष्ट्रिय टिममा फर्किइ सकेका छन् ।
एन्फाले मंसिर २७ गते विमल र दिनेशलाई ९० दिनको फुटबलमा प्रतिबन्ध सुनाएको थियो भने अन्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्ध लगाएको थियो । उनीहरुलाई खेलाडीलाई ५० हजार जरिवाना समेत सुनाईएको थियो ।
प्रशिक्षक महर्जनले तीन खेलाडीसहित आवश्यक पोजिसनमा थप खेलाडी समेत प्रशिक्षणका बोलाइने बताए । ‘अबको तयारीका लागि थप खेलाडी बोलाउँछौं । कोरोना संक्रमण र चोटका कारण अन्य आवश्यक खेलाडीलाई पनि टिममा बोलाउँछौं,’ उनले भने । कोरोणा संक्रमणका कारण केही खेलाडी गुमाउँदा बंगलादेशविरुद्धको खेलमा खेलाडी अपुग भएकाले यसपटक थप खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको कार्यकारी मुख्य प्रशिक्षक महर्जनले बताए ।
तर, प्रशिक्षक कालिनले लिगमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अन्जनलाई आफ्नो ३४ सदस्सीय टोलीमा फिर्ता बोलाएका थिए । अन्जनले बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेल समेत खेलिसकेका छन् ।
नेपालले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग उसैको मैदानमा खेलेको थियो । कोरोना संक्रमण र चोटका कारण टिमका नियमित केहि सदस्यले उक्त खेल गुमाएका थिए । पहिलो खेलमा बंगलादेसँग २–० ले पराजित भएको नेपालले दोस्रो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।
नेपाली टिम स्वदेश फर्किएर सातदोबाटोस्थित एन्फा होस्टेलको क्वारेन्टिनमा रहेका छन् । ५ दिनको क्वारेन्टिन बसाईपछि नेपाली टिमको पीसीआर परिक्षण हुनेछ । पीसीआर परिक्षण लगत्तै एन्फाले पुनः टिमको अभ्यास थाल्ने तयारी गरिरहेको छ ।
नेपालले अर्काे महिना पाकिस्तानसँग मैत्रिपूर्ण खेल खेल्ने बताएको छ । तर, एन्फाले यसबारे औपचारिक घोषणा भने भएको छैन ।