°
, June 7, 2023 in

अल्मुताइरीले बोलाए राष्ट्रिय टिममा १७ नयाँ खेलाडी

SHARE:

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा १७ नयाँ खेलाडीलाई बोलाएका छन्। आफूसँग विवाद गरेका १० सिनियर खेलाडीले बन्द प्रशिक्षण छाडेपछि १७ जना नयाँ खेलाडीलाई टिममा बोलाउँदै अल्मुताइरीले बन्द प्रशिक्षलाई निरन्तरता दिएका छन्।

टिममा बोलाइएका नयाँ खेलाडीमा गोलकिपर त्रय विकेश कुथु, विशाल सुनार, अभिषेक बराल छन््। यस्तै, आकाश बुढामगर, आशिष चौधरी, विकास तामाङ, जर्जप्रिन्स कार्की, मनिष जर्घामगर, निरकुमार राई, राजन गुरुङ, रोशन रानामगर, रुपबहादुर लामा, सञ्जोक राई, सेसेहाङ आङदेम्बे, शिव गुरुङ, सुनिल श्रेष्ठ र सुशील राईलाई अल्मुताइरीले टिममा बोलाएका छन्।

यसअघि विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशी, सुमन लामा, रोहित चन्द, सुजल श्रेष्ठ, तेज तामाङ, विशाल राईले प्रशिक्षण छाडेका थिए । यस्तै, क्याम्प छाडेका खेलाडीको पक्षमा उभिएका कप्तान किरण चेम्जोङलाई अल्मुताइरीले टिममा नराख्ने संकेत गरेका छन्।

नेपालले आगामी जेठ ११ र जेठ १५ मा अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले एसियन कपको छनोटअघि मैत्रीपूर्ण खेल खेल्न लागेको हो। यो खेल कतारमा हुनेछ। एक महिना स्वदेशमा अभ्यास गरेपछि नेपाली टिम कतार जाने कार्यक्रम छ।

एसियन कप छनोटमा नेपाल कठिन समूहमा छ। समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया छन्। समूहको शीर्ष टिम एसियन कपमा छनोट हुनेछ भने दोस्रो हुने टिमको पनि सम्भावना हुनेछ।

नेपाल सम्मिलित समूहका खेल जेठ २५ देखि ३१ गतेसम्म कुवेतमा हुनेछन्। नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग २५ जेठमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले २८ जेठमा कुवेत र ३१ जेठमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।

SHARE: