बुधबारबाट दशरद रंगशालामा सुरु हुने प्रधानमन्त्री थ्री नेसन्सकप फुटबल प्रतियोगिताको नेपाली टिमको घोषणा गरिएको छ। नवनियुक्त प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रतियोगिताको एक दिनअघि २३ सदस्यीय टिमको घोषणा गरेका हुन्।
स्ट्राइरक भरत खवास र डिफेन्डर आदित्य चौधरीले लामो समयपछि टिममा पुनरागमन गरेका छन्। यस्तै प्रशिक्षक एनेसले टिममा ७ नयाँ अनुहारलाई समेटेका छन्।
मुख्य प्रशिक्षक एनेसले ए डिभिजन लिगमा गरेको प्रदर्शनका आधारमा टिम छनोट गरेका हुन्।
नेपाल, भुटान र लाओस सम्मिलित थ्री नेसन्स कपका लागि घोषणा गरिएको टिममा गोलकिपर अभिशेक बराल, डिफेन्डरहरु सनिस श्रेष्ठ र पदम भट्टराई, मिडफिल्ड मणिकुमार लामा र नवीन लामा तथा स्ट्राइकर सुमित श्रेष्ठ र दीपकसिंह ठकुरी पहिलोपटक स्थान बनाएका हुन्।
प्रतियोगिता अघिको पोस्ट म्याच कन्फ्रेन्समा प्रशिक्षक एनेसले ९० मिनेट मैदानमा बिताउन सक्ने खेलाडी छनोट गरेको बताएका छन्। प्रशिक्षणका क्रममा गरेको मेहनतकै कारण आदित्य चौधरी टिममा परेको बताए । उनले आदित्यबाट आफू प्रभावित भएको पनि बताए ।
यता, एनेसको टिममा स्टार स्ट्राइकर विमल घर्तिमगन भने अटाउन सकेनन्। फिटनेसका कारण विमल टिममा नपरेको एनेसले बताए। ‘९० मिनेट मैदानमा बिताउन सक्ने खेलाडी छानेको छु, विमल पछिल्लो समय चोटसँग जुधिरहेका छन्, त्यसैले उनी योपटक टिममा छैनन्, उनको क्षमतामा शंका छैन,’ उनले भने।
राष्ट्रिय टिमका अधिकांश सदस्य विदेश पलायन भएपछि नेपाली टिममा यो पटक धेरै परिवर्तन भएको छ। त्यसैले टिममा धेरै नयाँ अनुहारको आगमन पनि भएको छ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले बुधबार लाओससँग र १४ चैतमा भुटानसँग खेल्नेछ । तीन टोलीले एकअर्कासँग खेलेपछि अंकका आधारमा दुई टिमले फाइनल खेल्नेछन् ।
नेपाली टिम : किरणकुमार लिम्बु, दीप कार्की र अभिशेक बराल (गोलकिपर), सनिस श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी र निशान्त खड्का (डिफेन्डर), पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा र भरत खवास (मिडफिल्डर), आयुष घलान, नवयुग श्रेष्ठ, दीपकसिंह ठकुरी, अन्जन विष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ र मनिष डाँगी (स्ट्राइकर) ।