खेलाडी पलायन रोक्ने कि विदेशिनेकाे संख्या मात्रै गनेर बस्ने ?

Read Time:6 Minute

खेलेर जीवन धान्ने अवस्था नभएपछि आशालाग्दा नेपाली खेलाडीहरू बिदेसिने क्रम एकपछि अर्को बढ्दै गएको छ।

एक वर्ष अवधिमा ४० फुटबल खेलाडी विदेश पलायन भइसकेका छन् । तीमध्ये अधिकांश राष्ट्रिय टिमकै स्टार खेलाडी छन्। तर, अखिल नेपाल फुटबल संघ (एन्फा) भने खेलाडी पलायनलाई गम्भीर रूपमा लिनुको साटो सङ्ख्या गनेर मात्र बसिरहेको छ ।

शुक्रबार मात्र राष्ट्रिय टिमका मिडफिल्डर विशाल राई सुरक्षित भविष्यको खोजीमा अस्ट्रेलिया प्रस्थान गरेका छन्। उनलाई नलाई विदाई गर्न मछिन्द्र क्लबका सहकर्मीहरु सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, रञ्जित धिमाल, देवेन्द्र तामाङ, छिरिङ गुरुङलगायत त्रिभुवन विमानस्थाल पुगेका छन्। मछिन्द्र क्लबका म्यानेजर अनिल श्रेष्ठपनि उनीहरुसँगै आफ्ना खेलाडीलाई विदाई गर्न विमानस्थल पुगेका थिए।

एकातिर घरेलु फुटबल व्यावसायिक बन्न नसक्दा खेलाडी पलायनको क्रम बढिरहेको छ भने अर्कोतिर क्लबहरूले पनि आफ्नो जिम्मेवारी राम्रोसँग पुरा गर्न सकिरहेका छैनन् ।

१२ वर्षको उमेरदेखि राष्ट्रिय टिमसम्मको यात्रा तय गरेका विशालका सहकर्मी सुजलले सामाजिक सञ्जालमा लेखे, ‘तिमीजस्तो प्रतिभावान् खेलाडी पलायन भएको देख्दा पूरै खेल क्षेत्रले दुःख महसुस गरेको छ ।’ तर, यो पीडाले एन्फा र खेलकुद परिषद्लाई कत्ति पनि छोएको देखिँदैन ।

गोलकिपर विशाल श्रेष्ठ र विशाल राईले २०५९ सालमा सँगै करिअर सुरु गरेका थिए । उनीहरू एन्फा एकेडेमीका चौथो ब्याचका खेलाडी हुन् । देशमा फुटबल खेलेरै दैनिक जीवन चलाउन गाह्रो भएर विशाल विदेश गएको क्षणलाई शब्दमा भन्न नसक्ने उनले प्रतिक्रिया दिए।

रजिन धिमालले विशाल करिअरको उच्चतम विन्दुमा भएकै समयमा बिदेसिनु पिडादायी भएको उल्लेख गरे । उनी भन्छन्– ‘आउने पुस्ताले यस्तो नियति भोग्न नपरोस्।’

खेलाडी पलायनको गति यही रूपमा बढ्दै जाने हो भने एक दिन राष्ट्रिय टिममा कोही पनि बाँकी रहनेछैनन् । विशालले मनाङ मर्स्याङ्दी र मच्छिन्द्रबाट सहिद स्मारक ए डिभिजन लिग जितेका थिए । उनी अघिल्लो सिजन मच्छिन्द्रबाट लिग च्याम्पियन भएका थिए । उनले सन् २०१५ अगस्टमा भारतविरुद्धको मैत्रीपूर्ण खेलमार्फत सिनियर टिममा डेब्यु गरेका थिए।

जीवन निर्वाह गर्ने उपायको खोजीमा बिदेसिने अधिकांश नेपाली खेलाडीको गन्तव्य अस्ट्रेलिया हो । तर, यस्तो विडम्बनापूर्ण अवस्थालाई एन्फाले भने सामान्य रूपमा लिइरहेको छ।

एकातिर घरेलु फुटबल व्यावसायिक बन्न नसक्दा खेलाडी पलायनको क्रम बढिरहेको छ भने अर्कोतिर क्लबहरूले पनि आफ्नो जिम्मेवारी राम्रोसँग पुरा गर्न सकिरहेका छैनन् । खेलाडी पलायनको गति यही रूपमा बढ्दै जाने हो भने एक दिन राष्ट्रिय टिममा कोही पनि बाँकी रहनेछैनन्।

खेलाडी पलायन बढेपछि अहिले ए डिभिजन लिगका क्लबहरुमा खेलाडीको खडेरी परेको छ। सहिद स्मारक ‘ए’ डिभिजन लिग फागुन १९ मा सुरु हुँदै छ । अर्थात नेपाली फुटबलको मेरुदण्ड मानिएको लिग सुरु हुन एक महिना मात्र बाँकी छ।

एन्फाका महासचिव किरण राईले लिगको तयारी द्रुत गतिमा अगाडि बढेको र महिना दिन बाँकीको समयलाई काउन्टडाउनमा लिएको बताए । उनले स्थापित खेलाडी पलायनको शृंखला दुःखद पक्ष भएको सुनाए।

महासचिव राई खेलाडीलाई विदेशी पलायनबाट रोक्न एन्फाले केही कार्यक्रम ल्याइरहेको बताउँदै थिए । पहिलो योजना सहिद स्मारक लिग नै भयो । नियमित हुन नसकेको सहिद स्मारक लिगलाई ६ महिना लामो लिग बनाउने र नेपाल सुपर लिग (एनएसएल) ३ महिना चलाउने ।

राईका अनुसार यस्तो भएमा ९ महिना फुटबल चल्नेछ । खेलाडी व्यस्त भएर मासिक तलब बुझ्नेछन् । उनले यस्तो भनिरहँदा एक महिनापछि हुने भनिएको लिग तीन महिनाभित्र सम्पन्न हुने तालिका बनाइएको छ ।

लिगका निर्देशक सञ्जिव मिश्र क्लबहरू नै चाँडो सक्ने पक्षमा रहेका कारण लिग लम्बिन नसकेको बताउँछन् । तर, महासचिव राई भन्छन्, ‘क्लबको समस्या एन्फाले नसुन्ने भन्ने हुँदैन । एन्फाले मंसिरमै लिग गर्ने घोषणा गरे पनि क्लबहरू तयार नहुँदा लिग हुन ढिला भएको हो ।’

केही क्लबहरू यस वर्ष लिग नै नगरौं अर्को वर्षबाट जाउँ भनेर अनुरोध गरेको राई स्मरण गर्छन् । उनी भन्छन्, ‘खेलाडीलाई अझ बढी बेरोजगार बनाउने पक्षमा हामी थिएनौं, त्यसैले यो वर्ष समयलाई केही मनन गरेर भए पनि हामी लिग आयोजना गर्न लागेका हौं, अर्को वर्ष ६ महिना सञ्चालन हुने लिग बनाउँछौं ।’

र, याे पनि

पलायनकाे दलदलमा भासिँदै नेपाली फुटबल, निकाल्ने कसले ? 

राष्ट्रिय टिमका अर्का सदस्य विशाल राई पनि अस्ट्रेलिया लागे

नेपाली फुटबलर विदेशिने क्रम बढ्यो, रञ्जन र नितिन पनि अस्ट्रेलिया लागे

नेपाली फुटबलमा भविष्य नदेखेपछि तीन स्टार खेलाडी विदेशिए 

Happy
Happy
50 %
Sad
Sad
25 %
Excited
Excited
25 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post राष्ट्रिय भलिबल खेलाडी सलिनालाई स्पेशल अवार्ड
Next post सन्दीपको निलम्बन फुकुवाको विरोधमा माइतीघरमा प्रदर्शन
Close