विश्वकप छनोटका लागि नेपाली टिमको घोषणा

कतारमा आयोजना हुने २०२२ को विश्वकपको एसियाको दोस्रो चरणको छनोटका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ । विश्वकप छनोट अन्तर्गत कुवेत र चाइनिज ताइपेइविरुद्धको सुरुवात दुई खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) बिहीबार राष्ट्रिय टिमको घोषणा गरेको हो ।

विश्वकप छनोटमा नेपाल समूह बीमा छ । यो समूहमा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपे छन् । नेपालले चारवटै टिमसँग पहिला अवे खेल खेल्ने छ । नेपालले भदौ १९ गते कुवेत र भदौ २४ गते चाइनिज ताइपेइसँग खेल्ने छ ।

कुवेत र चाइनिज ताइपेइसँगको खेलका लागि प्रशिषक योहान कालिनले घोषणा गरेको २३ सदस्यीय टिममा पुनः नियमित कप्तान विराज महर्जन अटाउन असफल भए । फिटनेशका कारण यसअघि मलेसियन क्लबसँग भएको मैत्रीपूर्ण खेल पनि महर्जन टिम पर्न सकेका थिएनन् ।

यस्तै, विश्वकप छनोटको टिममा स्ट्राइकर भरत खवास, मिडफिल्डर विमल राना र गोलकिपर एलन न्यौपाने पनि पर्न असफल भए । भरत सेनाको तालिमका लागि विदेशमा रहेकाले टिममा नपरेका हुन् ।

किरण चेम्जोङ र रोहित चन्द राष्ट्रिय टिममा फर्किएपछि एलन र विमल विश्वकप छनोटको टिमा अटाउन नसकेका हुन् । मलेसियन क्लबसँगको मैत्रीपूर्ण खेलमा किरण र रोहित नखेल्दा एनल र विमलले मौका पाएका थिए ।

विश्वकप छनोटका सुरुवाती २ खेलका लागि बिहीबार घोषणा गरिएको २३ सदस्यी टिमको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन् भने डिफेनसमा अनन्त तामाङ, रञ्जित धिमाल, सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, देबेन्द्र तामाङ र सुमन अर्याल रहेका छन् ।

यसैगरी रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई मिडिफिल्डरका रुपमा रहेका छन् भने स्ट्राइकरका रुपमा विमल घर्तिमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् ।

नेपाली टिमको कप्तानी कसले गर्ने त्यो भने टुंगो लागेको छैन । विराज र किरणको अनुपस्थितिमा मलेसियन क्लबविरुद्धको मैत्रीपूर्ण खेलमा भने सुजल श्रेष्ठले कप्तानी गरेका थिए । तर, विश्वकप छनोटका लागि किरण टिममा फर्किएकाले उनले नै कप्तानी गर्ने सम्भावना छ ।