आगामी साताबाट अर्जेन्टिनामा सुरु हुने विश्वकप फुटसलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । नेपाल फुटसल संघले राजधानीमा एक कार्यक्रम गर्दै विश्वपक फुटसलका लागि १२ सदस्यी टोलीको घोषणा गरेको हो ।
संघले बुधबार समीर कार्कीको कप्तानी विश्वकपका लागि टिम घोषणा गरेको हो । नेपाली टिममा दीपेन्द्र रसाइली, वरदान लामा, दिनेश श्रेष्ठ, विशाल थापा र सुजन बलामीले स्थान बनाएका छन् ।
यस्तै टोलीका अन्य सदस्यमा साहिल राना, राजु बुढाथोकी, अनुप राना, गौरव श्रेष्ठ, सञ्जीव तामाङ र ग्रिजेशमान श्रेष्ठ छन् । नेपाली टोलीलाई कलम विष्टले प्रशिक्षण दिने छन् । नेपाली विश्वकपका लागि बिहीबार अर्जेन्टिना प्रस्थान गर्ने संघले जनाएको छ ।
१२औं संस्करणको विश्वकप फुटसलमा नेपाल क्यानडा, स्पेन र फ्रान्ससँगै समूह डीमा छ । प्रत्येक समूहका शीर्ष दुई टिम अघिल्लो चरण पुग्ने छन् । वाइल्ड कार्डमार्फत् नेपालले विश्वकप फुटसलमा सहभागीताको मौका पाएको हो ।
विश्वकप फुटसलको पहिलो खेल नेपालले चैत १८ गते क्यानडासँग खेल्ने छ । यस्तै दोस्रो खेल चैत १९ गते स्पेन र अन्तिम चैत २० गते फ्रान्ससँग खेल्नेछ ।