नेपाली यू–१९ टिम भारतसँग १० विकेटले पराजित

नेपाली यू–१९ ए टोली भारतको हैदराबादमा जारी च्यालेन्जर्स ट्रफीअन्तर्गत आफ्नो पहिलो खेलमा भारतको सी टोलीसँग १० विकेटको भारी अन्तरले पराजित भएको छ ।

प्रतियोगितामा नेपालको एसहित भारतको ए, बी र सी गरी चार टोलीको सहभागिता छ । प्रतियोगितामा भारतको बी र सी टोलीले समान दुई अंक जोडेका छन् । नेपाल र भारतका ए टोली अंकविहीन छन् ।

विजयवाडास्थित क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ३२.१ ओभरमा सबै विकेट गुमाउनुअघि ११६ रनको योगफल तय गरेको थियो । प्रत्युत्तरमा भारतको सी टोलीले २१.१ ओभरमा विनाक्षति जित निश्चित गरेको हो ।

सिनियर राष्ट्रिय टोलीमा जस्तै नेपाली यू–१९ टोलीमा पनि ब्याटिङको समस्या देखिएको छ । भारतको सी टोलीविरुद्ध कुशल मल्लले २६ रन जोड्नुबाहेक अन्य नेपाली खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । पाँचौँ क्रममा ब्याटिङका लागि आएका कुशलले २९ बल खेल्दै चार चौका प्रहार गरेका थिए ।

यस्तै शेर मल्लले १६ रन जोड्दा अरुण ऐरीले १३, प्रतिस जिसीले ११ तथा लोकेश बम र खड्कबहादुर बोहोराले समान १० रन बनाए । कप्तान तथा प्रारम्भिक ब्याट्सम्यान रीत गौतम पाँच, हरिबहादुर चौहान सात तथा आकाश चन्द र सागर ढकाल समान चार रनमा आउट हुन पुगे ।

भारतीय टोलीविरुद्ध नेपाली बलर निष्प्रभावी देखिए । भारतको सी टोलीविरुद्ध नेपालका ६ बलरले बलिङ गरे, तर कुनै पनि खेलाडीले विकेट निकाल्न सकेनन् ।

भारतका लागि प्रारम्भिक ब्याट्सम्यान दिभ्यन्स अजयकुमार सक्सेनाले ६० बलमा अविजित ५२ तथा अर्जुन आजादले ६७ बलमा अविजित ६७ रन जोडे । यी दुईले टोलीका लागि १२० रनको साझेदारी गरेका थिए ।