नेपाली यू–१९ टिम शनिबार श्रीलंका जाने

एसिसी यू–१९ एसिया कप क्रिकेटमा सहभागी हुने नेपाली यू–१९ टिम शनिबार श्रीलंका जाने भएको छ । नेपाली टिम शनिबार दिउँसो श्रीलंका जाने छ ।

एसिया कप सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकामा हुने छ । श्रीलंकामा नेपाली टिमले त्यहाँको क्बलसँग केही अभ्यास खेल पनि खेल्ने छ । प्रतियोगितामा नेपाल आयोजक श्रीलंका, बंगलादेश र युएईसँगै समूह बीमा छ । यस्तै समूह एमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् ।

प्रतियोगिताका लागि नेपालले बिहीबार नै रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टिमको घोषणा गरेको छ । नेपाली टिममा रित गौतम, पवन सर्राफ, आसिफ शेख, सन्दीप जोरा, भीम सार्की, कुशल मल्ल छन् ।

यसैगरी अन्य सदस्यमा रशिद खान, कमल सिंह ऐरी, सागर ढकाल, हरिबहादुर चौहान, प्रतिष जिसी, खडक बोहरा, लोकेश बम र सुर्य तामाङ छन् भने प्रशिक्षकका रुपमा विनोद दास रहेका छन् ।

नेपालले ६ सेप्टेम्बरमा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ । दोस्रो खेल सेप्टेम्बर ८ मा बंगलादेश र सेप्टेम्बर १० मा युएईसँग खेल्ने छ । नेपाल एसिसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको विजेताका रुपमा यू–१९ एसिया कप खेल्न लागेको हो ।