नेपाली महिला क्रिकेट टिम अहिले कतारमा छ। नेपाली टिम टि २० विश्वकपको एसियन छनोटको तयारीका कतारसँग टि २० सिरिज खेल्ने कतार पुगेको हो।
नेपाल र कतारबीचको ३ खेलको टि २० सिरिज आजबाट सुरु हुँदैछ। यो खेलसँगै नेपाली महिला टिमले पहिलो टि २० अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ। आईसीसीले २०१९ देखि महिला टिमको टि २० खेललाई पनि अन्तर्राष्ट्रिय मान्यता दिएपछि नेपालको महिला टिमले पहिलो पटक टि २० सिरिज खेल्न लागेको हो ।
यस्तै, नेपाली महिला क्रिकेट टिमले २३ महिनापछि पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो। सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेपछि नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थिएन । झण्डै दुई वर्षपछि महिला टिमले अन्तर्राष्ट्रियस्तरको म्याच खेल्न लागेको हो ।
खेल दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । नेपालले बुधबार दोस्रो र बिहीबार तेस्रो खेल खेल्नेछ ।
सिरिज खेलिसकेपछि नेपाली टिम उतैबाट शुक्रबार महिला टि २० विश्वकपको एसियन छनोट खेल्न युएई प्रस्थान गर्नेछ । एसियन छनोटमा नेपालसँगै यूएई, मलेसिया, हङकङ, भुटान र कुवेतले प्रतिस्पर्धा गर्नेछन् ।