नेपाली महिला भलिबल टोलीले १३औँ दक्षिण एसियाली खेलकुद सागमा कम्तीमा पनि रजत पदक पदक पक्का गरेको छ । महिला टोलीले शनिबार राखेप कर्भड हलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराउँदै पहिलोपटक फाइनलमा स्थान बनाउँदै रजत पदक पक्का गरेको हो ।
यो जितसँगै नेपालले कम्तिमा रजत पदक पक्का गरेको छ । अब नेपालले स्वर्णका लागि भारतसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ । श्रीलंकाविरुद्ध तीन सेटमा उत्कृष्ट लयमा देखिएको महिला टोलीले सुरुवातबाटै खेलमाथि नियन्त्रण राख्यो ।
समूह एमा रहेको नेपाल भारतसँग पराजित हुँदै उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो । समूह बीको विजेता श्रीलंकाविरुद्ध नेपालले फाइनल प्रवेशका लागि भिड्यो । श्रीलंकालाई पनि स्वर्ण पदक उपाधि दाबेदार मानिएको थियो ।
महिला टोलीले साग खेलकुद जनाएको चौँथो संस्करणमा रजत यात्रा पक्का ग¥यो । नेपाली महिला टिमले यसअघि १९९९, २००६ र २०१६ मा सहभागिता जनाउँदा कास्य पदक जितेको थियो । तर, यसपटक घरमै आयोजना भएको सागमा महिला टोलीले बलियो प्रतिद्वन्द्वी श्रीलंकालाई सेमिफाइनलमा २५–१४, २५–१८ र २५–२१ को सोझो सेटमा हराउँदै भारतविरुद्धको स्वर्ण भिडन्त पक्का पा¥यो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले श्रीलंकालाई सुरुवातबाटै दबाबमा राख्दा नतिजा आफ्नो पक्षमा आएको बताएका छन् । ‘हामीले सुरुदेखि नै लय कायम गर्न सफल भयौँ, बीचमा लय बिग्रिएको भए खेलको नतिजा जे पनि हुन सक्थ्यो,’ प्रशक्षिक भट्टले भने । लामो समयदेखिको अभ्यास र प्रशिक्षणका कारण महिला भलिबल टोलीले ऐतिहासिक उपलब्धि हात पारेको प्रशिक्षक भट्टले बताए ।
यसैगरी कप्तान अरुणा शाहीले श्रीलंकालाई हराउने रणनीतिअनुसार नै आफूहरूले प्रतिस्पर्धा गरेको बताइन् । उनले भनिन्, ‘हाम्रा लागि यो ऐतिहासिक अवसर थियो । त्यसैले कुनै पनि हालतमा चुक्नु हुन्न भनेर सुरुवातबाटै दबाब बनाउन सक्यौँ । खेलाडीसँगै दर्शकले दिएको राम्रो साथ नेपालको जितको आधार बन्यो ।’
पुरुष भलिबलको सेमिफाइनल समीकरण पूरा
शनिबार नै भएको खेलमा पुरुष भलिबलको सेमिफाइनल समीकरण पूरा भएको छ । पाकिस्तानले श्रीलंकालाई ३–१ ले पराजित गरेसँगै सेमिफाइनलमा अब भारत र श्रीलंका तथा पाकिस्तान र बंगलादेशले प्रतिस्पर्धा गर्ने भएका छन् ।