नेपाली महिला क्रिकेट टिमले जित्यो ऐतिहासिक टि-२० सिरिज

नेपाली महिला क्रिकेट टिममले ऐतिहासिक टि-२० सिरिज जितेको छ। पहिलो पटक टि-२० सिरिज खेलिरहेको नेपाली टिमले ३ खेलको कतारविरुद्धको सिरिज एक खेल अगावै जितेको छ।

बुधबार भएको दोस्रो खेलमा कतारलाई ६१ रनले पराजित गर्दै नेपालले एक खेल अगावै सिरिज जितेको हो । सिरिज अन्तर्गत पहिलो खेल नेपालले ११९ रनले जितेको थियो।

दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियमा भएको खेलमा नेपालले दिएको १३० रनको लक्ष्य पछ्याएको कतार १९.३ ओभरमा ६८ रनमा अलआउट भयो । उसका लागि कप्तान अयेशाले सर्वाधिक २४ रन बनाइन । नेपालकी सरस्वती चौधरीले सर्वाधिक ४ विकेट लिइन् भने भने कप्तान रुविना क्षेत्रीले २ विकेट लिइन्।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रले ४८ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा ५० रन बनाइन् ।

रुबिनाको यो पहिलो टि २० अन्तर्राष्ट्रिय अर्धशतक हो । यस्तै ओपनिङ गरेकी कविता कुँवरले ३१ रन बनाइन् भने अप्सरी बेगम २३ रनमा अविजित रहिन् । कतारकी एन्जेलिन मारेले २ विकेट लिइन् ।

सिरिजको तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ । नेपाली टिमले टि २० विश्वकपको एसियन छनोटको तयारीका लागि कतारसँग सिरिज खेलेको हो।