न्यू डायमण्ड स्पोर्टस क्लबले वागमती प्रदेश खेलकुद परिषदसँगको सहकार्यमा सर्वाधिक पुरस्कार राशीको उमेर समूह खुला महिला भलिबल आयोजना गर्ने भएको छ ।
वागमती प्रदेश न्यु डायमण्ड कप यू–१९ खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता ९–१३ फागुनमा आयोजना हुनेछ । प्रतियोगिताको उपाधि विजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ ।
घरेलु भलिबलमा उमेरसमूहको प्रतियोगितामा यो अहिलेसम्मबै सबैभन्दा धेरै पुरस्कार हो । नेपाल भलिबल संघले आयोजना गर्ने क्लब च्याम्पियनसिपभन्दा १ लाख बढी पुरस्कार राशी राखिएको प्रतियोगितामा १० देखि १२ टिमको सहभागिता अपेक्षा गरिएको छ ।
प्रतियोगिताका लागि टिम दर्ता शुक्रबारसम्म हुने भएकाले आयोजक न्यु डायमण्ड युथ स्पोर्टस क्लबले सहभागी टिमको निश्चतता गर्न सकेको छैन ।
तर, अहिलेसम्म लुम्बिनी प्रदेश टिम, मोरङको ब्राइट फ्युचर एकेडेमी, आयोजक न्यु डायमण्ड एकेडेमी, धादिङ स्पोर्टस क्लब, ज्ञानसुधा स्कुल र परोपकार आवासीय माविले नाम दर्ता गरिसकेको आयोजक संस्थाका अध्यक्ष कुमार राईले जानकारी दिए ।
प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो हुने टिमले १ लाख र चौथो हुने टिमले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले २५ हजार र उदीयमान खेलाडीले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेण्डर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगिताका लागि वागमती प्रदेश खेलकुद परिषदले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । नागार्जुन नगरपालिकाले उपविजेताको पुरस्कारस्वरुप २ लाख ५० हजार रुपैयाँ प्रायोजन गरेको छ ।
२१ लाख अनुमानित खर्चमध्ये बाँकी श्रोत जुटाउन चन्द्रागिरी नगरपालिका लगायत अन्य प्रायोजनसँग सम्पर्क भइरहेको अध्यक्ष राईले जानकारी दिए ।
उमेर समूहको भलिबल विकास गर्ने उद्देश्यबाट प्रतियोगिता आयोजना गरिएको हो । न्यु डायमण्ड क्लबले निर्माण गर्न लागेको भलिबल कभर्डहललाई आर्थिक श्रोत जुटाउने लक्ष्य पनि राखिएको छ । निर्माणाधीन कभर्डहलकै कोर्टमा प्रतियोगिता आयोजना हुनेछ ।