आजबाट सुरु भएको छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता न्यु डायमन्ड विजयी भएको छ। शनिबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको खेलमा न्यु डायमन्डले विभागीय टिम त्रिभुवन आर्मी क्लबमाथि ३–०को सोझो सेटमा जित निकाल्यो ।
न्यु डायमन्डले आर्मीलाई २५–२०,२५–१४ र २५–१०को सोझो सेटमा हरायो।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भइरहेको प्रतियोगितामा आजै डिफेन्डिङ च्याम्पियन एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।
४ टिम सहभागी प्रतियोगिता लिगकम नकआउटका आधारमा हुनेछ । लिगको शीर्ष स्थानमा रहने दुई टिमले उपाधिका लागि खेल्ने छन्।
प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने टिमले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिने छ।