बार्सिलोनामा सुरु भयो नयाँ ‘गृह युद्ध’!

स्पेनिस जाइन्ट बार्सिलोना पछिल्लो समय धराशायी बनेको छ। कुनैबेला युरोपको सर्वाधिक सफल र धनी क्लब बार्सा अहिले ऋणमा चुर्लुम्म डुबेको छ। त्यसकै कारण उसले आफ्ना सर्वोत्कृष्ट खेलाडी मेसी समेत गुमाउनु परेको छ।

मेसीले बार्सा छाड्दा क्लबको अध्यक्ष जोआन लापोर्ता छन्। तर, बार्सालाई डुबाउन जिम्मेवार भने पूर्वअध्यक्ष जोसेप मारिया बोर्टोमेउ हुन्। उनी अध्यक्ष छँदा नै क्लब ओरालो लाग्न थालेको थियो भने उक्सिन नसक्ने अवस्थामा पुगेपछि उनले क्लब छाडेका थिए।

तर, तिनै बार्टोमेउले गत शुक्रबार आफ्ना उत्तराधिकारी लापोर्ताका नाममा खुला पत्र लेखे। उनले खुलापत्रमार्फत् आफुलाई चोख्याउँदै सबै आर्थिक संकटको दोष वर्तमान अध्यक्ष लापोर्ताको टाउकामा थापरेका थिए।

तर, लापोर्ता चुप लाग्नेवाला थिएनन्। उनले दुई घण्टा लामो पत्रकार सम्मेलन आयोजना गर्दै बार्टोमेउको खुलापत्रलाई झुटो मात्र बताएनन् उनले अध्यक्षको जिम्मेवारी लिँदा क्लबको आर्थिक अवस्था कस्तो थियो भनेर पनि खुलस्त पारे।

लापोर्ता गत मार्चमा बार्सिलोनाका अध्यक्ष बनेका थिए। त्यसबेला क्लब धराशायी अवस्थामा पुगिसकेको थियो।

‘बार्साको आर्थिक ग्राफ यसरी ओरालो लागेको थियो कि, त्यो देखेर बार्टोमेउ अत्तालिए। उनले क्लबको व्यवस्थापन जिम्मेवारी सम्हाल्दा क्लब ध्वस्त बनाएका थिए। यो खुलापत्र त्यही पक्ष लुकाउने उनको धृष्टता मात्र हो,’ कार्यक्रममा लापोर्ताले भने।

पत्रकार सम्मेलनमा लापोर्ताले क्लबको आर्थिक पक्षका हरेक हिस्साको चर्चा गरे। उनी अध्यक्ष भएर आएयता भोग्नुपरेको आर्थिक अवस्था विस्तृत रुपमा बताए। उनका अनुसार अहिले बार्साको खुद मूल्यांकन ४५१ मिलियन यूरो रहेको छ। तर, माइनसमा। अर्थात्, बार्साको सबै सम्पत्ति बेचेर ऋण तिर्दा पनि अझै ४५१ मिलियन युरो बराबरको ऋण बाँकी नै रहन्छ।

लापोर्ताका अनुसार उनी आउँदा बार्साको आर्थिक अवस्थामात्र होइन स्टेडियम पनि धराशायी अवस्थामा थियो। सिजन सुरु हुनु अगाडी मात्र १ मिलियन युरोभन्दा बढी खर्चेर स्टेडियमको मर्मतसम्भार गरेको उनले बताए। यदि समयमा मर्मतको काम नसकिएको भए दुर्घटनाको जोखिमका कारण आइतबार रियल सोसिडाडाविरुद्ध भएको खेलमा दर्शक आउन पाउँदैन थिए।

लापोर्ताले पूर्वअध्यक्ष बार्टोमेउलाई यो विषय अहिले यहिँ नटुंगिएको र बार्सालाई धराशायी बनाउन जिम्मेवार हरकोही व्यक्तिलाई कानुनको दायरमा ल्याउने पनि बताए। उनले यो मुद्दालाई ‘प्रतिनिधि सभा’मै लगेर बहस गराउने पनि बताएका थिए। सभाबाटै दोषीहरुलाई कानुनको दायरामा ल्याएर आवश्यक कारबाहीलाई पनि अगाडि बढाउने पनि लापोर्ताले बताए।

‘कोही पनि आफ्नो जिम्मेवारीबाट पन्छिन पाउनेछैन। सबैलाई जवाफदेही बनाइनेछ,’ उनले भने।

पछिल्ला दिनहरुमा विकसित घटनाक्रमले बार्सिलोनामा नयाँ ‘गृह युद्ध’ सुरु भएको संकेत गरेको छ। लापोर्ता बार्सासँग जोडिएको बेला क्लब विवादमा मुछिएको यो पहिलो अवसर भने होइन। पहिलेको विवादमा पनि लापोर्ता र बार्टोमेउ नै केन्द्रमा थिए।

त्यतिबेला सान्द्रो रसेल बार्साका अध्यक्ष थिए भने बार्टोमेउ उपाध्यक्ष थिए। बार्साको बोर्डले लापोर्ता र उनका पदाधिकारीहरुविरुद्ध मुद्दा नै दायर गरेको थियो। उनलाई क्लबलाई नोक्सान पुग्ने कार्यमा जिम्मेवार ठहर्याउँदै बार्टोमेउ सम्मिलित बोर्डले मुद्दा दायर गरेको थियो।

तर, लापोर्ता सो मुद्दा जित्न सफल भए। बार्साको माथिल्लो तहमा विकसित पछिल्ला घटनाक्रमले भने त्योभन्दा ठूलो विवाद नजिक आइरहेको संकेत गरिरहेको छ।

विश्वकै सबैभन्दा महंगो खेलाडी (नेमार, २२२ मिलियन युरो) बेचेको क्लब कसरी केही वर्षमै कंगाल भएर आफ्ना खेलाडीलाई तलब समेत दिन नसक्ने अवस्थामा पुग्यो? यो वास्तवमै गम्भीर प्रश्न हो। र, जायज पनि।

यदि लापोर्ताले पूर्वअध्यक्ष बार्टोमेउविरुद्ध कानुनी कारबाही अगाडी बढाए भने अहिले छनक देखाएको यो ‘गृह युद्ध’ले भीषण रुप लिन कत्ति पनि समय लाउने छैन।