अफगानिस्तानलाई हराउँदै न्युजिल्यान्ड विश्वकपको शीर्ष स्थानमा

19 Oct, 2023

लगातार चौथो जित निकाल्दै न्युजिल्याण्ड भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटको शीर्षस्थानमा उक्लिएको छ।

लगातार चौथो जित निकाल्ने क्रममा गएराति न्युजिल्यान्डले अफगानिस्तानलाई १४९ रनको फराकिलो अन्तरले हरायो। यसअघि उसले इंग्ल्यान्डलाई ९ विकेटले, नेदरल्यान्ड्सलाई ९९ तथा बंगलादेशलाई ८ विकेटले हराएको थियो।

न्युजिल्याण्डले दिएको २८९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३४.४ ओभरमा १३९ रनमै अलआउट भयो। उसका रहमात शाहले ६२ बलमा १ चौकासहित सर्वाधिक ३६ रन बनाए। आजमतुल्लाह ओमरजाई २७ रन बनाउनु बाहेक उल्लेख्य योगदान दिन सकेनन्।

न्युजिल्यान्डका मिचेल सान्टनार र लोकी फर्गुसनले समान ३ विकेट लिँदा ट्रेन्ट बोल्टको नाममा २ विकेट रह्यो।

चेन्नइमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २८८ रन बनायो। उसका ग्लेन फिलिप्सले सर्वाधिक ७१ रन बनाए। उनले ८० बलमा ४ चौका र ४ छक्का प्रहार गरे।

त्यस्तै कप्तान टम लाथमले ७४ बलमा ३ चौका र २ छक्काको मद्दतमा ६८ रन बनाए भन् विल योङले ६४ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५४ रन बनाए।

अफगानिस्तानका अजमतुल्लाह ओमरजाई र नवीन उल हकले समान २ विकेट लिए।

४ जित निकालेको न्युजिल्यान्ड ८ अंकसहित शीर्ष स्थानमा छ भने भारत ३ खेलमा ३ जित निकाल्दै दोस्रो स्थानमा छ। अफगानिस्तानको भने २ अंक मात्र छ।