स्पेनिस जाइन्ट बार्सिलोनाबाट विश्वकै सबैभन्दा महंगा खेलाडीका रुपमा फ्रेन्चलिग विजेता पिएसजीमा आबद्ध भएका ब्राजिलियन स्टार नेमारले सिजनको अन्त्यसँगै युरोपियन च्याम्पियन रियल मड्रिड जानसक्ने संकेत दिएका छन् ।
‘स्पोर्टे स्पेक्टाकुलर’ले लामोसमयको प्रचारबाजीपछि आइतबार सार्वजनिक गरेको नेमारको अन्तर्वार्तामा उनले रियल मड्रिड जानसक्ने संकेत देखाएका थिए । नेमारले आफु पिएसजीमा खुसी रहेको बताएपनि रियल मड्रिड विश्वकै ठूलो क्लब भएकाले रियलबाट खेल्नु हरेक खेलाडीको चाहना रहने बताएका थिए ।
‘म पिएसजीमा खुसी छु । तर, रियल मड्रिड विश्वको सबैभन्दा ठूलो क्लब हो । सबै खेलाडी त्यहाँबाट खेल्न चाहन्छन् । मेरो सानो छँदाको सपना बार्सिलोनाबाट खेल्नु थियो, त्यो मैले पूरा गरें । म अब रियल मड्रिडबाट खेल्छु भनेर ठोकुवा त गर्दिन तर, भविष्य कसले देखेको छ र ?’, नेमारले बताए ।
जारी सिजनको सुरुवातमा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो युभेन्टसलाई बेचेर उनको उचित विकल्पको खोजीमा रहेको रियलले पनि नेमारलाई आबद्ध गर्ने इच्छा देखाइरहेको छ । यसअघि नेमार र उनको एजेन्ट रहेका उनका बुवाले ट्रान्सफरका हल्ला निराधार रहेको भन्दै खण्डन गरेपनि यसपटक नेमार आफैले युरोपियन च्याम्पियनमा आबद्ध हुने सम्भावना रहेको बताएपछि आगामी समर ट्रान्सफर मार्केट रोचक रहने विश्वास गर्न सकिन्छ ।
उक्कृष्ट प्रदर्शनका बावजुसद फिनिसरको अभावमा जारी सिजनका चारवटामध्ये तीनवटा एल क्लासिकोमा पराजित भएको रियल मड्रिड अर्को सिजन बलियो रुपमा आउन उत्कृष्ट स्ट्राइकरको खोजीमा छ । तर।, चिरप्रतिद्वन्द्वी क्लब बार्सिलोनाबाट खेलिसकेका नेमारलाई आबद्ध गर्न रियललाई त्यति सहज भने हुने छैन ।