विश्वकपमा सहभागी भएका अधिकांश फुटबलर अहिले आ–आफ्नो क्लबमा फर्किएसकेका छन्। केही खेलाडी अहिले पनि छुट्टी मनाइरहेका छन् भने केही खेलाडी जितको खुसी साटिरहेका छन्।
फ्रेन्च क्लब पिएसजीका स्टारद्वय नेमार र किलियन एम्बाप्पे प्रशिक्षणमा फर्किएका छन्। यी दुवै खेलाडी बिहीबारबाट प्रशिक्षणमा आएका हुन्।
ब्राजिल कतार विश्वकपबाट बाहिरिएको १२ दिन र एम्बाप्पे विश्वकप फाइनलको २ दिन पछि प्रशिक्षणमा फर्किका हुन्। ब्राजिल क्वार्टरफाइनलमा क्रोएसियासँग ४–२ले पराजित भएको थियो भने फ्रान्स फाइनल अर्जेन्टिनासँग ४–२ ले नै पराजित भएको थियो।
नेमार र एम्बाप्पे दुवैले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरे । एम्बाप्पेले फाइनलमा ह्याट्रिकसँगै कुल ८ गोल गरे । यता, चोटका कारण नेमारले ३ खेल मात्र खेले जसमा उनले २ गोल गरे । उनले क्वार्टरफाइनलमा क्रोएसियाविरुद्ध सनसनी पूर्ण गोल गरेका थिए।
पिएसजीले डिसेम्बर २८मा स्टार्सबर्गसँग खेल्ने छ । यो खेलका लागि नेमार र एम्बाप्पे दुवै उपलब्ध हुनेछन्।
कहिले फर्कन्छन् मेसी ?
आफ्नै नेतृत्वमा अर्जेन्टिनालाई ३६ वर्षपछि उपाधि दिलाएका मेसी अहिले पनि छुट्टीमै छन्। अहिले मेसीसहितको अर्जेन्टिनी टिम खुसी सेलिब्रेट गरिरहेको छ। मेसी जनवरीमा पिएसजी आइपुग्ने बताइएको छ।

मेसी क्लब फर्किएपछि पिएसजीले उनीसँग सम्झौता नवीकरणका विषयमा कुरा गर्ने छ। बार्सिालेना छाड्दै पिएसजीसँग २ वर्षको सम्झौता गरेका मेसीको सम्झौता यो सिजनसँगै सकिने छ।
बार्सिलोना मेसीलाई पुनः फर्काउन चाहिरहेको छ भने डेबिड बेकह्यामको अमेरिकन क्लब इन्टर मियामी पनि मेसीलाई अनुबन्धन गर्न चाहन्छ । तर, मेसीले सम्झौता नवीकरण गर्ने आवश्वासन पिएसजीलाई दिएका छन्।