निराजन महर्जनले गरे थ्री स्टारसँग सम्झौता नवीकरण

डिफेन्डर निराजन महर्जनले ललितपुरको थ्री स्टार क्लबसँग सम्झौता नवीकरण गरेका छन्। आसन्न ए डिभिजन लिग र राष्ट्रिय लिगका लागि निराजनले थ्री स्टारसँगको सम्झौता नवीकरण गरेका हुन्।

थ्री स्टार क्लबले बुधबार फेसबुकमार्फत निराजनले सम्झौता नवीकरण गरेका उल्लेख गरेको छ। यो सिजन थ्री स्टारमा निराजनले २७ नम्बरको जर्सी लगाउने छन्।

थ्री स्टारबाटै उमेर समूहका प्रतियोगिता खेलेका निराजनले नेपाली राष्ट्रिय टिमबाट पनि उमेर समूहमा प्रतिनिधित्व गरेका छन् । उनले यू–१२, यू–१४, यू–१८ र यू–१९मा नेपालको प्रतिनिधित्व गरेका छन्।

कात्तिक २९बाट सुरु हुने ए डिभिजन लिगका लागि थ्री स्टारले नयाँ खेलाडीका रुपमा युवा विंगर आयुष घलान र डोना थापालाई अनुबन्धन गरेको छ भने विदेशी खेलाडी डिफेन्सिभ मिडफिल्डर राफायल बिडीएस रिमलाई पनि अनुबन्धन गरेको छ ।

यस्तै, उसले कप्तान विक्रम लामा, डिफेन्डर अनन्त तामाङ, मिडफिल्डर सन्जोक राई, मनाग्य नकर्मी र निशान खड्का, निशान लिम्बू, आशोक खवासलगायतसँग सम्झौता नवीकरण गरेको छ।