अस्ट्रेलियन ओपन टेनिसको उपाधि सर्भियन स्टार नोभाक जोकोभिचले जितेका छन्। आइतबार भएको फाइलनमा स्टेफनस सिसिपासलाई हराउँदै जोकोभिचले उपाधि जितेका हुन्।
आइतबार मेलवर्नमा भएको फाइनलमा जोकोभिचले सिसिपासमाथि ६–३, ७–६ (७–४) र ७–६ (७–५) सेटमा जित निकाले।
यो जोकोभिचको १०औं अस्ट्रेलियन ओपन उपाधि हो । यस्तै, समग्रमा २२औं ग्रान्डस्लाम उपाधि हो। योसँगै जोकोभिचले स्पेनिस टेनिस स्टार राफायल नाडालको २२औं ग्रान्डस्लाम जित्ने कीर्तिमान पनि बराबरी गरेका छन्।
नाडालसँग उपाधि बराबरी गरेसँगै ३५ वर्षीय जोकोभिच विश्व नम्बर एक वरीयतामा फर्किनेछन्।
जितपछि जोकोभिचले भने, ‘गत वर्ष नखेले पनि यस वर्ष फर्केर आउने परिस्थितिलाई ध्यानमा राख्दै यो मेरो जीवनमा खेलेको सबैभन्दा चुनौतीपूर्ण प्रतियोगिता हो भन्न चाहन्छु। म भन्न चाहन्छु कि यो मेरो जीवनको सबैभन्दा ठूलो जित हो।’
गत वर्ष कोभिड(१९ खोपको विवाद भएपछि जोकोभिचलाई स्वेदश फर्काइएको थियो।