सहिद स्मारक ए डिभिजन लिगको नवप्रवेसी टिम सातदोबाटो युथ क्बलले जारी लिगमा पहिलो हार बेहोरेको छ। शनिबार दशरथ रंगशालामा भएको खेलमा सातदोबाटो न्युरोड टिम एनआरटीसँग १-०ले पराजित भयो ।
यसअघिका तीन खेलमा सातदोबाटोले २ जित र १ बराबरी खेलेको थियो। उ ७ अंकसहित तेस्रो स्थानमा छ भने एनआरटी ५ अंकसहित सातौं स्थानमा छ।
लिगमा एनआरटीलाई पहिलो जित दिलाउने क्रममा स्टेफन समीर विनाङेले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दास्रो हाफको पहिलो मिनेटमै उनले मेसुके ओलोमोउको पासमा गोल गरे ।
पहिलो जितपछि एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले खुशी व्यक्त गरे । यस्तै सातदोबाटोका प्रशिक्षक मेघराज केसीले यसअघिका खेलमा जस्तो आज खेल्न नसकेको बताए ।