एनआरटी र सातदोबाटो युथ क्लबले एकेडेमी चलाउने

ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) र सातदोबाटो युथ क्लबले फुटबल एकेडेमी चलाउने भएका छन् । एनआरटी र सातदोबाटोले एकेडेमी चलाउनका लागि बुधबार छुट्टा छुट्टै सम्झौता गरेका छन् ।

एनआरटीले एकेडेमी सञ्चालनका लागि कीर्तिपुरस्थित ल्याब्रेटोली स्कुल र सातदोबाटो युथ क्लबलले ललितपुरकै लिटिल एन्जर्ल्स स्कुलसँग सम्झौता गरेका हुन्। दुवैले क्लबले ६ वर्षको सम्झौता गरेका छन्।

सम्झौता अनुसार पहिलो वर्ष १४ मध्ये ७ खेलाडी एकेडेमीमा भर्ना हुने छन् । उनीहरूले स्कुलै अध्ययन र प्रशिक्षण गर्नै छन्। यस्तै, दोस्रो वर्षदेखि क्लबले १४ खेलाडी उपलब्ध गराउने छन् । त्यसपछि एकेडेमीमा २१ खेलाडी हुने छन् ।

सातदोबाटो युथ क्लबका अध्यक्ष कपिल रानामगर र एलएका प्रिन्सिपल मुकुन्दराज शर्माले सम्झौतामा हस्ताक्षर गरे । सातदोबाटोले शीर्ष डिभिजनमा पुगेको पहिलो वर्ष नै युथ एकेडेमीका लागि स्कुलसँग सम्झौता गरेको हो। सम्झौतासँगै एकेडेमी एलएएस–सातदोबाटो युथ एकेडेमीको नामबाट सञ्चालन हुनेछ।

यता, एनआरटीका अध्यक्ष सुन्दर जोशी र ल्याब्रेटाेरी स्कुलका प्रिन्सिपल लाक्पा शेर्पाले सम्झौतामा हस्ताक्षर गरे। एकेडेमी ल्याब्रेटोरी एनआरटी युथ एकेडेमीको नाममा सञ्चालन हुनेछ।