पिपल्स च्वाइस अवार्डका लागि कुशल, एन्जिला, प्रिन्ससहित ५ जना नाेमिनेशनमा

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले एनएसजेएफ-पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको छ।

काठमाडौंमा आईतबार पत्रकार सम्मेलन गर्दै एनएसजेएफको खेलाडी छनोट समितिले मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको हो।

मनोनयनमा पर्ने खेलाडीमा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी एन्जिला तुम्बापो सुब्बा, टेबलटेनिसकी एलिना महर्जन, क्रिकेटका कुशल भुर्तेल र ब्याडमिन्टनका प्रिन्स दाहाल रहेका छन्।

पिपल्स च्वाइस विधाका विजेता खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङबाट चुनिनेछन्। कार्यक्रममा मञ्चले स्पोर्ट्स अवार्डका लागि विद्युतीय भुक्तानी सेवा प्रदायक ईसेवासँग सम्झौता गरेको छ।

पिपल्स च्वाइस विधाको भोटिङका लागि एनएसजेएफ र ईसेवाबीच प्रायोजक सम्झौता भएको हो। एनएसजेएफका अध्यक्ष देवेन्द्र सुवेदी तथा ईसेवाका चिफ म्यानेजर आशिष गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरे। पिपल्स च्वाइस विधाका विजेता खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङबाट चुनिने छ।

स्पोटर्स अवार्ड चैत ८ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा हुनेछ। एनएसजेएफले विगत वर्षहरुमा भन्दा यसपटक कार्यक्रम फरक ढंगले आयोजना गर्ने जनाएको छ।  एनएसजेएफले यस पटकको अवार्डलाई दशक अवार्ड अर्थात दशक अघि नेपाली खेलकुद क्षेत्रमा इतिहास रचेका खेलाडीहरुलाई यो वर्ष सम्मानित गर्ने जनाएको छ।

एक दशक अघिका उत्कृष्ट खेलाडीहरु यस पटक दशक अवार्डका लागि मनोनित हुनेछन्। पारा एथलिट, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विजेता कार्यक्रमकै दिन घोषणा गरिने आयोजकले जनाएको छ।

यस वर्ष पनि दशक खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ। अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।