चार महिनामै टोटनहमले बर्खास्द गर्‍याे मुख्य प्रशिक्षक, कोन्टे ल्याउने तयारी

इंग्लिस प्रिमियर लिग क्लब टोटनहमले ४ महिना नबित्दै मुख्य प्रशिक्षक नुनो इस्पिर्टो सान्टोलाई बर्खास्त गरेको हो। गत जुनमा ४ वर्षको सम्झौता गर्दै टोटनहम आएका नुनोलाई टोटनमहले ४ महिनामै बर्खास्त गरेको हो।

प्रिमियर लिगमा निरन्तर खराब प्रदर्शन गरेपछि नुनो बर्खास्तीमा परेका हुन्। इपिलएलका १० खेलमा ५ हार बेहोरेको टोटनहम शनिबार राति भएको खेलका म्यान्चेस्टर युनाइटेडसँग ३–०ले पराजित भएको थियो।

प्रिमियर लिगका पछिल्ला ७ मध्ये टोटनहमले ५ खेलमा हार भोगेको छ। टोटेनहम अंक तालिकाको आठौं स्थानमा रहेको छ, शीर्षस्थानको चेल्सीभन्दा १० अंक पछाडि।

टोटनहमका फुटबल निर्देशक निर्देशक फाबियो पाराटिकीले उनलाई बर्खास्त गर्नुपर्दा दुःख लागेको बताए। ‘मलाई थाहा छ नुनोले आफ्नो प्रशिक्षणमा क्लबलाई सफलता दिलाउन चाहान्थे,’ उनले भने, ‘यो निर्णयका लागि दुःख लागेको छ।’

यता, टोटनहमले चेल्सीका पूर्वप्रशिक्षक एन्टोनियो कोन्टेलाई मुख्य प्रशिक्षक बनाउने तयारी थालेको छ। बीबीसीका अनुसार ५२ वर्षीय कोन्टेले सोमबारपछि आमनेसामने वार्ता गर्ने बताइएको छ। मंगलबार जति सक्दो चाँडो घोषणा हुने समाचारमा जनाइएको छ।

उनले इटालियन सिरी ‘ए’ जितेको केही हप्तापछि मेमा इन्टर मिलान छाडेका थिए। उनले चेल्सीमा रहँदा प्रिमियर लिग र एफए कप जिताएका थिए।