एनभिए भलिबल च्याम्पियनसिप : बलियो आर्मीलाई हराउँदै हेल्प नेपालले जित्यो उपाधि

एनभिए राष्ट्रिय भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि हेल्प नेपालले जितेको छ।

आइतबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको फाइनलमा बलियो विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै हेल्प नेपालले उपाधि जितेको हो।

हेल्प नेपालले आर्मीमाथि २५–२१, २६–२४ र २५–२३ को सोझो सेटमा जित निकाल्यो । योसँगै हेल्प नेपालले अघिल्लो पटक फाइनलमा प्राप्त हारको बदाल आर्मीसँग फाइनलमै लियो।

हेल्प नेपालले यसअघि २०७३ र २०७६ को संस्करणमा पनि उपाधि जितेको थियो । प्रभावशाली विदेशी खेलाडीको भित्र्याएको हेल्प नेपाल पछिल्लो ६ वर्षदेखि सधै उपाधि दावेदार रहँदै आएको छ ।

उपाधिसँगै हेल्प नेपालले ४ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता आर्मीले २ लाखमा चित्त बुझाएको छ।

यता, महिलातर्फको उपाधि न्यु डायमन्ड एकेडेमीलाई हराउँदै नेपाल पुलिस क्लबले जितेको छ।