
राष्ट्रिय भलिबल लिगमा महिला र पुरुष दुवैमा आर्मी च्याम्पियन
त्रिभुवन आर्मी क्लब आरबीबी एनभीए राष्ट्रिय क्लब लिग भलिबलमा पुरुष र महिला दुवैतर्फ च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएका निर्णायक खेलमा आर्मीको पुरुष टोलीले टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबलाई हराउँदा महिला टोलीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्यो ।
हेल्प नेपालमाथि ३–१ को सेटमा विजय पाएको आर्मी लिगमा अपराजित रह्यो । राष्ट्रिय टिमका अधिकांश खेलाडी रहेको आर्मीले सात टिम सहभागी लिगमा १८ अंक जोडेको हो ।
सुरुवाती २ सेट २५–१३ र २५–१८ ले जितेको आर्मीले तेस्रो सेट २८–२६ ले गुमायो । तर चौथो सेटमा २८–२६ को जितसहित उपाधि जितेको हो । शनिबारै अर्को खेलमा एपीएफलाई ३–२ को सेटमा हराउँदै नेपाल पुलिस लिगमा तेस्रो भयो ।
महिलातर्फ पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरी आर्मीले पहिलोपल्ट राष्ट्रिय क्लब लिगको उपाधि जितेको हो । आर्मीले पुलिसमाथि २५–१८, २५–२३ र २५–२० को सेटमा जित निकालेको हो ।
महिला र पुरुष दुवैतर्फको उपाधि विजेताले ६ लाख, उपविजेताले ३ लाख र तेस्रो हुने टिमले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाए । एक सातासम्म चलेको प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ५ टिमको सहभागिता थियो ।