
एनभिए भलिबल च्याम्पियनसिप : पुलिस समूह विजेता बन्दा आर्मी सेमिफाइनलमा
सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ उपाधी दाबेदार मानिएको विभागीय टिम नेपाल पुलिस क्लब समूह विजेता बनेको छ।
समूहका तीनै खेल जित्ने क्रममा पुलिसले बुधबार गण्डकी प्रदेशमाथि ३–१को जित निकाल्यो । रोमाञ्चक प्रतिस्पर्धामा पुलिस २५–२३, २५–२१, २४–२६ र २५–१५ ले विजयी भयो । समूह ‘सी’को पुलिस तीन खेलमा ९ अंक जोड्दै समूह विजेता बन्यो ।
अब पुलिसले सेमिफाइनलमा स्थान बनाउन दावाँली मिलन केन्द्रसँग खेल्ने छ।
समूह डीको खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब दुई खेलमा विजयी बन्दै ६ अंकका साथ क्वाटरफाईनल प्रवेश गर्न सफल भएको छ। पहिलो खेलमा बुढानिलकण्ठ स्पोर्टस् क्लबलाई पराजित गरेको हेल्प नेपालले आज सम्पन्न दोश्रो खेलमा बागमती प्रदेशको केशवलाल स्मृती भलिबल क्लबलाई २५–१८, २५–१८ र २५–१३ ले पराजित गर्दै ६ अंकका साथ क्वाटरफाईनल प्रवेश गरेको हो।
यस्तै, महिला तर्फ त्रिभुवन आर्मी क्लब सेमिफाईनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा गण्डकी प्रदेशलाई २५–११, २५–१० र २५–१५ ले पराजित गर्दै आर्मी समूह बी बाट सेमिफाइलन पुगेको हो ।
महिलातर्फको अर्को खेलमा एभरेष्ट भलिबल क्लबले नयाँबजार सामाजिक युथ क्लबलाई २५–१२, २५–१२ र २५–१४ ले पराजित गर्दै ३ अंक जोड्न सफल भयो।