एनभीए क्लब लिग भलिबल : न्यु डाइमन्ड र हेल्प नेपाललाई उपाधि

पाँचौ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियसिप भलिबलको उपाधि महिलातर्फ न्यु डाइमन्ड र पुरुष तर्फ हेल्प नेपालले जितेका छन् । फाइलनलमा न्युडाइमन्डले पुलिसलाई ३–२को सेटमा हरायो भने हेल्प नेपालले विभागीय टोली एपीएफलाई ३–० को सोझो सेट हरायो।

पहिलो सेटमा पुलिसका स्पाइकर उषा र कोपिलाले ४–४ र कामनाले ३ स्कोर गरेका थिए । प्रतिभाले १२ स्कोर गर्दा पनि सेट गुमायो । दोस्रो र तेस्रो सेटमा न्यु डायमन्डको आक्रमण हेर्दा खेल ५ सेटमा पुग्ने अनुमान थिएन । यो दुवै सेटमा प्रतिभाले ७–७ अंक जोडेकी थिइन् ।

न्यु डायमन्डको आक्रमणभन्दा पुलिस आफ्नै कमजोरीले पछि परेको थियो । दुवै सेटमा पुलिसले १३–१३ नकारात्मक अंक दियो । चौथो सेटमा पुलिसका मिडिल ब्लकरले लोभलाग्दो प्रदर्शन गरे । यो सेटमा मनीषा चौधरीले ६ र कोपिला रानाले ४ स्कोर गरेका थिए । स्पाइकर उषा र कामनाले पनि ४–४ स्कोर गरे ।

पाँचौं सेटमा कुनै समय पुलिसले ६–५ को अग्रता बनाएको थियो । कप्तान अरुणा शाहीको सर्भमा पुलिसका खेलाडीको रोटेसन बिग्रिएपछि अंक न्यु डायमन्डलाई आयो । लगत्तै अर्को सर्भमा उनले अंक लिएपछि न्यु डायमन्ड ७–६ को अग्रतामा पुग्यो । त्यसयता उसले अग्रता गुमाउनुपरेन ।

फाइनलमा पुलिस मुख्य गरी उषामा निहित थियो । पहिलो सेटमा उनको आक्रमण सफल भइरहेको थियो । त्यसैले सेटर कमला पुनले उनै लक्षित बल मिलाइदिएकी थिइन् । दोस्रो सेटपछि उषालाई रोक्ने न्यु डायमन्डको रणनीति सफल हुन थाल्यो । उनको प्रहार कोर्टबाहिर पुग्ने या ब्लक भएर आफ्नै कोर्टमा खस्ने हुन थाल्यो ।

पुरुषतर्फ हेल्प नेपाल च्याम्पियन

आफैंले रोजेको फाइनल प्रतिद्वन्द्वी एपीएफमाथि हेल्प नेपाल स्पोर्ट्स क्लबको जित अपेक्षित थियो । लिग चरणको अन्तिम खेलमा दोस्रो रोजाइको टिम खेलाएर हेल्प नेपालले एपीएफलाई फाइनलमा पुर्‍याएको थियो । भारतीय राष्ट्रिय टोलीका कप्तान विनित कुमारसहित रोहित कुमार र विकास तमाकको जादुयी प्रदर्शनमा हेल्प नेपालले २५–१४, २५–२०, २५–२२ को सहज सेटमा जित पाएको हो ।

लिग चरणमा हेल्प नेपालले एपीएफसँग जानीजानी हारेको भन्दै सामाजिक सञ्जालमा समर्थकले विरोध गरे पनि उपाधि जितेपछि प्रशिक्षक रमेश केसीले भने आफ्नो रणनीति सफल भएकोमा खुसी व्यक्त गरे ।

उपाधिसँगै न्यु डायमन्ड र हेल्प नेपालले ३–३ लाख रुपैयाँ नगद पुरस्कार पाए । महिलातर्फ उपविजेता पुलिस र पुरुषतर्फ एपीएफले १ लाख १५ हजार पुरस्कार पाए । महिलातर्फ तेस्रो र चौथो हुने क्रमशः एपीएफ र त्रिभुवन आर्मीले ७५ हजार र ३७ हजार ५ सय पुरस्कार पाए । पुरुषतर्फ तेस्रो बुलबुले रारा भलिबल क्लबले ७५ हजार र चौथो पुलिसले ३७ हजार ५ सय पुरस्कार पाए । पुरुषतर्फ साबिक विजेता त्रिभुवन आर्मी यसपल्ट शीर्ष चारभित्र पर्न सकेन ।

विधागत पुरस्कारमा महिलातर्फ पुलिसकी उषा भण्डारी (स्पाइकर), पुलिसकै मनीषा राई (ब्लकर), पुलिसकै कमला पुन (सेटर), न्यु डायमन्डकी सलिना श्रेष्ठ (लिबेरो), न्यु डायमन्डकी ललिता नाथ (सर्भर) र न्यु डायमन्डका कुमार राई (प्रशिक्षक) मा उत्कृष्ट चुनिए ।

पुरुषतर्फ विधागतमा बुलबुले राराका पाकिस्तानी खेलाडी मुराद जियान (स्पाइकर), पुलिसका दीपकराज जोशी (ब्लकर), हेल्प नेपालका भारतीय खेलाडी विकास कुमार तमाक (सेटर), बुलबुलेका धनश्याम चौधरी (सर्भर), एपीएफका विनोद चन्द (लिबेरो) र हेल्प नेपालका रमेश केसी (प्रशिक्षक) उत्कृष्ट चुनिए ।

विधागतमा महिला र पुरुषतर्फ विजेताले जनही १० हजार रुपैयाँ पुरस्कार पाए । उत्कृष्ट खेलाडी न्यु डायमन्डकी प्रतिभा र हेल्प नेपालका विनित कुमारले जनही २५ हजार पुरस्कार पाए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.