कतार विश्वकपको सेमिफाइनलमा मोरक्कोविरुद्ध भिड्नु अघि ओभिर जिरुडले आफ्ना साथी खेलाडी किलियन एम्बप्पेको प्रसंशा गरेका छन्। जिरुडले एम्बाप्पे उत्कृष्ट खेलाडी भएको भन्दै उनले सबै कीर्तिमान तोड्ने बताएका छन्।
फ्रान्सको उपाधि रक्षा अभियानमा यी दुई जिरुड र एम्बाप्पे दुवै महत्वपूर्ण छन्। दुवै उत्कष्ट फर्ममा पनि छन् । एम्बाप्पेले प्रतियोगितामा ५ गोल गर्दा जिरुडले ४ गोल गरेका छन्। यी दुवै गोल्डेन बुटको होडमा छन्।
जिरुडले पोल्यान्डविरुद्ध गोल फ्रान्सका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान बनेका थिए। उनले त्यही आफ्नो रेकर्डतर्फ इंगित गर्दै एम्बाप्पेले सो रेकर्ड तोड्ने बताएका हुन्।
‘उनको जुन लय छ, त्यो हेर्दा उनले सबै कीर्तिमान तोड्ने छन्, मलाई त्यो थाहा छ,’ जिरुडले भनेका छन्। युवा अवस्थामै ठूलो सफलता हासिल गरिसकेका एमबाप्पेको गति सुरु भएदेखि रोकिएको छैन।
‘फुटबल एकनासको हुँदैन। तर, एमबाप्पे भने संधै एकैनासकै छन्। सफलताबाट झन् बढी सफलतातर्फ। एमबाप्पेले २४औं जन्मदिन मनाउनुअघि फ्रेन्च टिमबाट ३३ गोल गरिसकेका छन्।
एम्बाप्पेको प्रसंशा गर्दै जिरुडले भनेका छन्, ‘उनी अविश्वसनीय छन्, र अझै युवा झन्, त्यो झन् महत्वपूर्ण हो । किनभने उनी अझै उत्कृष्ट र परिपक्व हुन सक्छन्।’
एमबाप्पे विश्वकै सर्वाधिक पारिश्रमिक पाउने खेलाडी पनि हुन्। ‘फेम’सँगै समस्या पनि आउँछन् भन्ने एम्बाप्पेलाई थाहा छ। उनको यही गति कायम रहरे रेकर्डहरु एम्बाप्पेका पछि दौडने छन्, त्यो निश्चित छ।