ओलिभर जिरोडले सबैभन्दा बढी गोल गर्ने थिएरी हेनरीको कीर्तिमान बराबरी गरेको खेलमा विश्व च्याम्पियन फ्रान्सले मंगलबार राति अस्ट्रेलियालाई ४–१ ले पराजित गर्यो । क्राएग गुडविनको गोलमा अस्ट्रेलियाले नवौं मिनेटमा अल जनाब रंगशालामा आश्चर्यजनक अग्रता लियो ।
विश्वकप सुरु हुनुअघि नै एनगोले कान्टे, पाउल पोग्बा, करिम बेन्जेमा जस्ता महत्त्वपूर्ण खेलाडी गुमाइसकेको फ्रान्सले अस्ट्रेलियाको अग्रतासँगै घाइते भएका लुकास हर्नान्डेजलाई पनि गुमाउन पुग्यो ।
एड्रियन रेबियोटको गोलमार्फत फ्रान्सले २७ औं मिनेटमा खेल बराबरीमा ल्याएको थियो । जिरोडले फ्रान्सलाई ३२ औं मिनेटमा २–१ को अग्रता दिलाए । यो उनको ५० औं अन्तर्राष्ट्रिय गोल थियो ।
केलियन एमबाप्पेले ६८ औं मिनेटमा गरेको गोलमा विजयतर्फ अगाडि बढेको फ्रान्सका लागि त्यसको तीन मिनेटपछि जिरोडले गोल गर्दै सर्वाधिक ५१ गोल गरेको हेनरीको कीर्तिमान बराबरी गरे ।
एसी मिलानबाट खेल्ने ३६ वर्षे जिरोडले फ्रान्सका लागि १ सय १५ क्याप जितिसकेका छन् । यसक्रममा उनी फ्रान्सबाट विश्वकपमा गोल गर्ने सबैभन्दा पाका खेलाडी भए । बेन्जेमा फिट भएको भए चार वर्षअगाडि फ्रान्सलाई विश्वकप जिताउँदाका महत्त्वपूर्ण सदस्य जिरोडले प्लेयिङबाट खेल्ने सम्भावना कम थियो ।